
काठमाडौं, दक्षिण एसियाली देशहरु सुरक्षित, मर्यादित र जिम्मेवार वैदेशिक रोजगारीका लागि एकमत भएका छन् ।
काठमाडौंमा विहिवार सम्पन्न १८ औं सार्क सम्मेलनको घोषणा पत्रमा वैदेशिक रोजगारी पनि समेटिएको छ । घोषणा पत्रको २१ औं बुँदामा भनिएको छः ‘हामी दक्षिण एसियाली देशहरु सुरक्षित, मर्यादित र जिम्मेवार वैदेशिक रोजगारी हुनुपर्छ भन्नेमा एकमत छौं । यस क्षेत्रबाट विभिन्न गन्तव्य मुलुकमा रोजगारीका लागि जाने कामदारको सुरक्षा तथा सम्मानपूर्ण कामको प्रत्याभूति हुनुपर्दछ ।’
दुई दिनसम्म काठमाडौंमा चलेको सम्मेलन ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै विहिवार सकिएको हो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागि थिए ।