काठमाडौं, साउदी अरबमा ५ जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरुले फेसबुकको माध्यमबाट आफन्तलाई उद्धारको पहल गर्न खवर गरेका छन् । तलव नपाइ ठगिमा परेकाहरु साउदी अरबको बादी दोवासर्मामा रहेका छन् । अलपत्र पर्नेहरुमा टीकापुर कैलालीका हस्त रावल, मकवानपुरका रेशम थिङ र राजु नगरकोटी तथा धादिङका श्रीराम घिसिङ रहेका छन् ।
दुई बर्षदेखि तलव नपाएका उनीहरुले श्रम अदालतमा उजुरी गरेका थिए । अदालतले उनीहरुलाई एक हप्ताभित्रमा तलव दिएर दुई महिनाभित्र पालैपालो नेपाल फर्काउने आदेश दिएको थियो । साहुले अरुलाई तलव दिएर घर पठाइदिए पनि ५ जनालाई भनें अर्को ठाउँमा लगेर अलपत्र पारेको हस्तले बताए ।
उनीहरुलाई बादीबाट डेढसय किलोमिटर टाढा अनकण्टार ठाउँमा लगेर थप काममा लगाइएको छ । उनीहरु साहिद हादी अल दोसरी कन्टेक्टिङ इस्ट नामको कम्पनीमा कार्यरत थिए ।
‘१२ सय साउदी रियाल तलव दिने गरी झन्डै ७५ जना नेपाली कामदारलाई काममा लगाएको थियो’ हस्तले भने, ‘श्रम अदालत गएपछि हजारका दरले मासिक तलब दियो । त्यो तलब पाएपछि अरू सबै घर फर्किसकेका छन् । तर, साहुले पाँच जनालाई फोनको नेटवर्कसमेत नभएको अनकन्टार ठाउँमा थप ६ महिना काम गराएर फसाएको हो ।
साहुको सबै चाल बुझेपछि रातारात भागेर पहिलेकै ठाउँमा आएर उनीहरूले प्रहरी, नेपाली राजदूतावासलगायत ठाउँमा गुहार मागे पनि कसैले सहयोग नगरेको गुनासो गरेका छन् । केही दिनसम्म त उनीहरूले आफूहरूसँग भएको पैसाले काम चलाए । तर त्यो पनि सकिएपछि अहिले गहिरो संकटमा परेको बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा उद्धार र सहयोगको आग्रह गरिरहेका ती युवाले खान र बस्नको समस्या परेको र विदेशमा सहयोगी साथी कोही पनि नहुँदा सक्दो सहयोगको आग्रह गरेका हुन् । स्वदेश फर्किन पनि रकम अभाव भएपछि उतै बस्न बाध्य भएको उनीहरूले टेलिफोनमा बताएका छन् । टीकापुर र हेटौंडालगायतका ठाउँमा रहेका उनीहरूका आफन्तले पनि सरकारलाई तत्काल उद्धार पहल गर्न आग्रह गरेका छन् ।
कान्तिपुरबाट