के सुनिएला आप्रवासीको समस्या ?

काठमाडौं, १८ औं सार्क शिर सम्मलेनको रंगीचंगी चहलपहलसँगै के कस्ता एजेण्डामा छलफल भइरहेका छन्, कुन कसरी पारित हुन्छन्, साइडलाइन र रिट्रिटमा कस्ता विषय उठ्लान्, भारतीय र पाकिस्तानी प्रधानमन्त्री सम्वन्ध कस्तो होला यी सवै स्वभाविक कौतुहल हुन् ।

सार्कको माहौल र कौतुहलबीच रोजगारीका लागि जन्मथलो छाडेर उड्ने कामदारको बाध्यता बेग्लै छ । प्राविधिक कारणबाहेक उनीहरु रोकिने अवस्था छैन गन्तव्य मुलुक पुग्नका लागि । दक्षिण एसियाबाट प्रतिवर्ष २० लाखभन्दा बढी मानिसले देश छाड्ने गरेको आँकडा छ ।

आजकै दिन करिव साढे ५ हजार कामदारले उडान भर्दैछन् । सार्क सम्मेलनले यिनकै लागि के कस्ता निर्णय गर्छ भन्ने जिज्ञासा छ जुन सार्क स्थापनाको २९ बर्षसम्म विषय प्रवेश नै भएन ।

यसपालि आप्रवासी कामदारको एजेण्डा पारित भई क्षेत्रीय संयन्त्र बन्ने, अनी वार्ता र छलफल अघि बढ्ने अपेक्षा छ ।

सार्क राष्ट्रमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कामदार श्रोत मुलुकका रुपमा चिनिन्छन् । माल्दिभ्स र भुटान यो क्षेत्रका कामदार गन्तव्य मुलुक हुन् । त्यसो त भारतसहित अरु मुलुकले पनि धेरथोर विदेशी कामदार ल्याउने गर्दछन् । सार्क क्षेत्र भित्रकको आप्रवासन र घरेलु आप्रवासनलाई द्धिपक्षिय तथा आन्तरिक मामिला भनेर पन्छाउने गरिएको छ ।

मानव बेचविखन विशेषतः वैदेशिक रोजगारकै नाममा बढी हुने गरेको छ । नाफामुखि संगठित अन्तराष्टिय अपराध गणनामा अवैध लागूऔषध कारोवार र हातहतियारको तस्करीपछि मानव बेचविखन, तस्करी तथा ओसारपसार पर्दछ । आप्रवासी कामदारको पारिश्रमिक, काम र सेवा सुविधामा हुने ठगि धन्दाको गणना गरीसाध्य छैन । पीडित कामदारले न्याय पाउन कठिन मात्र होइन दुःख विसाउने ठाउँसमेत पाउँदैनन् ।

कतारको मरभूमिको एउटा भेडीगोठमा दिनरात एक्लै खटिएका गोरखाका लोकबहादुर सार्की बजार गएर फर्किंदा निकालिएर स्वदेश फर्किनुपरेको थियो । ‘साहुनीलाई जति भन्दा पनि बजार जान दिइनन्, गएर फर्केर आउँदा घरै पठाइन्’ उनले भने ‘खुरुक्क फर्केर आएँ, कसलाई के भन्ने ?’ यस्तै पीडित कामदारको सुरक्षाका लागि दक्षिण एसियाली क्षेत्रीय स्तरको समन्वयकारी संयन्त्रको खाँचो पुरा गर्न सार्क मार्फत केहि ठोस् कदम चालिनु पर्दछ ।

यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय