काठमाडौं, मंसिर ८ – वैदेशिक रोजगारीमा जानेहरुलाई सरकारले अव सुरुमै तालिम अनिवार्य बनाउने भएको छ । नेपालीको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित बनाउन सरकारले वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुअघि नै तालिम लिनुपर्ने व्यवस्था ल्याउँदैछ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मृत्यु हुने, अंगभंग हुने र ठगिने क्रम बढेपछि सरकारले वैदेशिक रोजगारमा जाने निर्णय गरेपछि तालिम लिनुपर्ने व्यबस्था गर्न लागेको हो । हाल वैदेशिक रोजगारीमा जानु अघि अभिमुखिकरणको व्यवस्था भएपनि पासपोर्ट बोकेर म्यानपावर पुगेपछि मात्रै तालिम दिने र त्यो पनि औपचारिकताको लागि मात्रै हुने भएकोले यस्ता घटना बढेको सरकारको निश्कर्ष छ ।
त्यसैले अब शुरुमै तालिम अनिवार्य गर्न लागिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए । ‘भोली उड्ने टिकट छ आज तालिम दिएर कसरी वैदेशिक रोजगार सुरक्षित हुन्छ रु’ उनले भने ‘अब घरबाट झोला बोकेर निस्कनु अघि नै तालिम दिनुपर्छ ।’ यसको लागि निर्देशिका र पाठ्यक्रम बनाउने क्रम चलिरहेको काफ्लेले बताए ।
यो काम जति सक्दो छिटो सकेर स्थानीयस्तरमै तालिम अनिर्वाय गरिने उनले बताए । यसको पहिलो मस्यौदा तयार भैसकेको र अब अन्तिम छलफल चलिरहेको छ । यस्तै सरकारले विदेश जानुअघि लिनुपर्ने अभिमुखिकरण तालिमको पाठ्यक्रम पनि परिमार्जन गर्दैछ । यसका साथै श्रम स्विकृति लिनुअघि सीप परिक्षण अनिवार्य गर्ने व्यवस्था समेत ल्याउन लागिएको काफ्ले बताए । सरकारले थप सुरक्षित गन्तव्यको खोजी गर्ने र नीतिगत सुधार गर्ने कार्यमा जोड दिएको उनले बताए ।
यसैबीच सरकारले अब विदेशमा घाइते भएका कामदारलाई मात्रै नभइ नेपालमा रहेका तिनका परिवारका सदस्य विरामी भएपनि उपचार खर्च दिने ब्यबस्था ल्याउँदैछ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देशिकामा यो व्यबस्था भएपनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । निर्देशिकामा आवश्यक मापदण्ड बनाएर परिवारका सदस्यलाई पनि उपचार खर्च दिने व्यबस्था भएपनि मापदण्ड बन्न नसक्दा लागु हुन नसकेको बोर्डका कार्यकारी निर्देशक काफ्लेले बताए ।
तर अब त्यसको मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेकोले छिट्टै कार्यन्वयन हुने उनले बताए । बोर्डको निर्देशिकामा वैदेशिक रोजगारीमा गएका कामदारको परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लागेमा उपचार खर्च दिने उल्लेख छ ।