
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा महिलाको आत्महत्याको दर बढ्नुमा वैदेशिक रोजगार जिम्मेवार रहेको ठहर्याएको छ । आयोगद्धारा हालै ४ जिल्लामा गरिएको अध्ययनको निश्कर्ष निकाल्ने क्रममा यस्तो बताएको हो ।
खोटाङ सोलुखुम्वु, ओखलढुँगा र रामेछापमा गरिएको अध्ययनका क्रममा यस्तो तथ्य देखिएको आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
आयोगद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– वैदेशिक रोजगारका सिलसिलामा विदेश गएका श्रीमान्ले श्रीमतिलाई आर्थिक हिनामिनाको आरोप र चारित्रिक लाञ्छना लाउने जस्ता पक्षहरुका कारण महिलामा आत्महत्या बढेको पाइयो ।
यसैगरी जिल्लामा पठाइने निःशुल्क औषधीहरु जिल्लाको आवश्यकता अनुरुपका नहुने, बाहिरका औषधी नकिने नहुने बाध्यता रहेको समेत टोलीले ठहर गरेको छ ।
सडकको स्तरोन्नती भइसक्दा पनि अध्ययन गरिएका चार जिल्लामा भाडा नघटेको, पुल नबन्दा स्थानीय बासिन्दा मर्कामा परेको लगायतका समस्यालाई सम्वोधन गर्नु आवश्यक रहेको आयोगले जनाएको छ ।
यसैगरी समयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित भएको, शिक्षकहरु पनि पठनपाठन भन्दा अन्य गतिविधिमा बढी संलग्न हुने गरेको आयोगको ठहर छ ।
आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा विभिन्न जिल्लाका कारागारहरुमा कैदीवन्दीलाई समस्या रहेको उल्लेख गरिएको छ ।