काठमाडौं, सोसलमिडिया प्रतिको आकर्षणले आइतवार भारतमा एकजनाको ज्यान लिएको छ । सेंट फ्रान्सिस स्कुलमा कक्षा ६ मा पढ्ने एक छात्र फेसबुकमा आफ्नो एउटा फोटो अपलोड गर्न चाहन्थे । उनी फोटो खिच्न एक रेलको छतमा चढे । तल बसेका उनका साथिहरु तालि बजाइरहेका थिए । तर खतरा ति व्यक्तिको टाउको माथि मडारिइरहेको थियो ।
उनको टाउको माथि २५ हजार भोल्टको हाइटेन्सन लाइनको तार रहेको उनले भेउ नै पाएनन् । सोही तारको करेण्टले तिनलाई तानिहाल्यो । तत्कालै ति किशोरको ज्यान गयो । घटना बेलुकी ५ बजेतिर भएको थियो ।
वैशाली नगरमा बस्ने १३ बर्षिय केतन पोद्दार साथिहरुलाई लिएर उसलापुर रेलवे स्टेशनमा पुगेका थिए । त्यहाँ रेलको मालगाडी थियो । केतन फोटो खिच्न रेलको छतमा चढेका थिए । उनका दुईजना साथिहरु मोवाइलबाट केतनको फोटो खिचिरहेका थिए । उनी छतमा तरह तरहको पोजमा फोटो खिचिरहेका थिए । त्यहि क्रममा उनी तारको नजिक पुगे र करेण्टले उनको इहलीला समाप्त गरिदियो ।
केतनको साथमा गएका साथिहरुले उनी फेसबुकमा फोटो अपलोड गर्न रेलवे स्टेशनमा फोटो खिच्न गएको प्रहरीलाई बताएका छन् । यसअघि उनले पोष्ट गरेको एक फोटोमा धेरै लाइक आएपछि उनी नयाँ तस्वीर खिच्न गएका साथिहरुले बताएका छन् ।
दैनिक भाष्करबाट
