विदेश विर्साउने कमाइ नेपालमै

दाङ, घोराही २ गुलरियाका सन्देश डीसी १४ महिना मलेसिया बसे । फर्केर फेरी कतारको भिसा लगाए । दुई बर्ष र डेढ लाख गुम्यो तर उनी कतार जान पाएनन् ।

त्यसपछि भाँचिएको विदेश जाने मन फेरी कहिल्यै फर्किएन । अव उनले मन फर्काउन आवश्यक पनि ठानेनन् । आफैं व्यवसाय गरेर दैनिक २० हजारको कारोवार गरिरहेका छन् ।

सोनपुर ४ श्रीगाउँमा लेयर्स कुखुरा पालेका डीसीले अण्डा बिक्रिबाट खर्च कटाएर दैनिक १० हजार भन्दा बढी आम्दानी गर्छन् । एक महिनामा ३ लाखभन्दा बढी बचत हुन्छ ।

विदेशमा एक महिनामा पाउने रकमले यहाँ एकै दिनमा कारोवार गरिन्छ उनले भने विदेशको चक्करमा धेरै समय विताइयो, खर्च भयो । अन्तमा आफ्नै देशमा व्यवसाय गर्दा सन्तुष्ट भइयो ।

एक बर्षअघि ५ सय कुखुरा पालेर ओम पोल्ट्रि फर्म सुरु गरेका डीसीले अहिले ४ हजार कुखुरा पुर्याएका छन् ।

८ लाख लगानीबाट सुरु गरेको व्यवसाय अहिले ४० लाख माथि पुगेको छ । अव १० हजार कुखुरा पुर्याउने तयारी गरिरहेको उनले बताए । २८ बर्षका उनी दिनरात कुखुराको हेरचाहमा खटिन्छन् । उनले दुईजनालाई रोजगारी समेत दिएका छन् ।

दैनिक १० पेटी अण्डा बेच्ने गरेको उनले बताए । हरेक दिन २० हजारको अण्डा विक्रि हुन्छ । घरमै किन्न व्यापारी आउने भएकाले बेच्न कहिं जानु समेत पर्दैन ।

कुखुराले ६ महिनाको भएपछि अण्डा दिन थाल्छ । दुई बर्षसम्म दैनिक अण्डा दिइरहन्छ । त्यसपछि मासुका लागि बेचिन्छ । कुखुराको मल समेत विक्रि हुने भएकाले फाइदा निक्कै भएको डीसीको भनाई छ ।

सवै नगदमै किनबेच हुने भएकाले विदेश जानु भन्दा यसरी नै स्वदेशमै कुनै इलम गरेर खानु जाती भएको उनको भनाइ छ । सुरुमा परिवारले पनि संकोच मानेको कामबाट आफूले सफलता हासिल गरेर देखाएको डीसीले बताए ।

यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: