
काठमाडौं मंसिर ६ मुख्य सचिव लीलामणी पौडेलले शैक्षिक परामर्श दिने उद्धेश्यले खोलिएका संस्थाहरुले मानव तस्करीका रुपमा अपारदर्शी रुपमा काम गरिरहेको बताएका छन् । उनले त्यस्ता संस्थाहरुले यस्तो गतिविधि तत्काल रोक्न समेत आग्रह गरे ।
पढेलेखेका व्यक्तिले निरक्षरबाट फाइदा लिन्छन् । गलत ढंगमा विज्ञापन गरी धेरै व्यक्तिलाई आकर्षित गरी अलपत्र पार्ने काम भएको मुख्य सचिव पौडेलको भनाई छ ।
शैक्षिक परामर्श दिने संस्थाहरु आवद्ध एसोसिएसन अफ ईथिकल एण्ड प्रोफेसनल एजुकेशन एजेण्टस् अफ नेपाल (आइरिन)ले काठमाडौमा गरेको इन्टरनेशनल एजुकेशन फेयरको उद्घाटन गर्दै उनले यस्ता संस्थाहरु विकृति भित्रिएको समुदाय अन्तर्गत परेको समेत बताए ।
‘तपाईहरुको परामर्शबाट विदेश जाने नेपाली विद्यार्थीले त्यो देशमा काम नपाउने र उसले पढेको शिक्षा नेपालका लागि काम लाग्दो नहुने देखिएको छ’ उनले भने, ‘सबै विकासको प्रस्थान विन्दु शिक्षा हो, शिक्षाको बाटो एकपटक विग्रेपछि बन्दैन, तपाईहरुले गरेको गल्तिको सुधार नै हुँदैन, त्यसैले देश विकासका लागि ईमान्दार भएर काम गर्नु होस्, गल्ति नगर्नु होस् ।’
कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्का सदस्य सचिव डा.रामहरी लामिछानेले परामर्श दिने संस्थाहरुलाई ब्रेन ड्रेन गर्ने केन्द्रका रुपमा विकास हुन नदिन सबै सचेत हुनु पर्ने बताए ।
आइरिनका अध्यक्ष उत्तम प्रसाद पन्तले यो क्षेत्रमा देखिएका विकृति र विसंगतीलाई कम गर्दै उचित सूचना प्रवाह गर्ने आफूहरुको उद्धेश्य रहेको बताए ।
काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा भएको मेलामा शैक्षिक परामर्श दिने ३८ वटा संस्थाहरुले स्टल राखेका छन् । मेलामा भारत, जापान, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, आयरल्याण्ड, अष्ट्रेलिया र फिलिपिन्स लगायत मुलुकका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई परामर्श दिएका छन् ।