काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवायुवतीलाई व्यवसाय गर्न ५ लाखसम्म ऋण दिने भएको छ । कोष सञ्चालक समितिको हालै सम्पन्न बैठकले कोष सञ्चालन नियमावली संशोधन गरी ऋण लगानी सीमा बढाएर ५ लाख पुर्याउने निर्णय गरेको हो । हाल नियमावलीमा स्वरोजगार कार्यक्रम सञ्चालनका लागि बढीमा दुईलाख रुपैंयाँ दिन सकिने व्यवस्था छ ।
बैंक, वित्तिय संस्था र सहकारीले कोषबाट वार्षिक ७ प्रतिशत व्याजमा रकम ऋण लिइ युवालाई १२ प्रतिशत व्याजदरमा विनाधितो व्यवसाय सञ्चालन गर्न ऋण दिने व्यवस्था छ ।
आर्थिक रुपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, जनजाति, द्धन्द्धपीडित, परम्परागत सीपयुक्त युवालाई उत्पादन तथा रोजगार व्यवसाय सञ्चालन गर्न कोषले विनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउँदै आएको छ ।
न्यूनतम १८ बर्षदेखि ५० बर्ष उमेर समूहभित्रका युवायुवतिले कोषबाट ऋण लिइ व्यावसायीक खेती, कृषिजन्य उद्योग र सेवामूलक स्वरोजगार कार्यक्रम उञ्चालन गर्दै आएका छन् ।
कोषका कार्यकारी उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद । रेग्मीले नियमावली संशोधन गर्न अर्थ मन्त्रालयका कानून महाशाखा प्रमुख सहसचिव मणिराज ओझाको संयोजकत्वमा कार्यदल गठन भएकोे जानकारी दिए ।
“बेरोजगारलाई स्वरोजगार हुन २ लाखले नपुग्ने भएकाले ऋणसीमा बढाएर ५ लाख बनाउने निर्णय गरिएको हो, कार्यदलले प्रतिवेदन दिनासाथ नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा पेस गर्नेछौं” रेग्मीले भने ।
यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ