काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इवोला भाइरसको संक्रमण भएको देशमा काम गरेर फर्केका सुरक्षाकर्मीहरुलाई कम्तीमा तीन महिना शारिरीक सम्पर्क नराख्न आग्रह गरेको छ । यसले उनीहरुमा इवोला भाइरसको संक्रमण भएको भएपनि उनीहरुका श्रीमतिलाई सर्नबाट जोगाउने छ ।
इवोलाग्रस्त मुलुक लाइबेरियाबाट फर्केका एक भारतीय नागरिकको विर्यमा इवोला भाइरस भेटिएपछि सतर्कताका लागि नेपालमा यस्तो सतर्कता अपनाइएको हो ।
लाइबेरियामा उनलाई निको भएको भन्दै स्वदेश फर्काइएको भएपनि भारतमा आएपछि गरिएको परिक्षणमा यस्तो पत्ता लागेको थियो ।
रक्त परिक्षणमा नदेखिएपनि विर्यमा इबोला भाइरस लामो समयसम्म रहनसक्ने प्रमाणित भइसकेको हुँदा यसको जोखिमलाई नियन्त्रण गर्न हामीले यस्तो आग्रह गरेका हौं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले भने । पाण्डे इवोला फोकल पर्सन हुन् ।
यसरी फर्केकाहरुलाई यौन सम्पर्कको समयमा कण्डमको प्रयोग गर्न हामीले सुझाव दिएका छौं उनले भने । इवोलाग्रस्त मुलुकबाट फर्केका सुरक्षाकर्मीहरु तीन हप्ता परिक्षणमा बसेपछि मात्र घर जान पाउँछन् ।
हाल सयौं नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी इवोला भाइरसको समस्या रहेका अफ्रिकी मुुलुकमा कार्यरत छन् ।