काठमाडौ, ५ मंसिर – मृतकका परिवारलाई क्षतिपूर्तिबापत दिएको रकम आफ्नै खातामा राखेको भेटिएपछि साउदी अरबका पुर्वराजदूत हमिद अन्सारी भ्रष्टाचार मुद्दामा मुछिएका छन्। मृतकका परिवारले पाउने रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्सारीविरुद्ध ३ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। रोजगारीका लागि साउदी अरब पुगेका भाइको मृत्युपछि बाग्लुङका होमबहादुर पुनले रोजगारदाता कम्पनीबाट ४७ हजार रियाल पाउनुपर्ने थियो। पहिलो किस्तास्वरूप २७ हजार रियाल पाएका पुनले अर्को किस्ताको २० हजार रियाल नपाएपछि अख्तियारमा उजुरी दिएका थिए। छानबिन क्रममा मृतकका परिवारको रकम राजदूत आफैंले निकालेको भेटिएको हो। सन् २०१० अगस्ट ११ मा २० हजार रियालको चेक पाएका राजदूतले त्यसको १५ दिनपछि आफैले निकालेको अख्तियारद्वारा विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख छ। अन्सारी एमाले कोटाबाट २०६४ माघदेखि २०६७ माघसम्म साउदी अरबको राजदूत थिए। रोजगारदाता कम्पनीबाट दूतावासमा आएको चेक राजदूत अन्सारीको निर्देशनमा साटिएको खुलेको छ। तर उनले भने चेक साटिनुमा दूतावासका लेखापाललाई दोष दिँदै आफैं त्यसमा संलग्न नभएकोे दाबी गरेका थिए। छानबिन क्रममा रियादस्थित दूतावासले २०६८ फागुनमा पत्र पर्ठाई राजदूतको मौखिक निर्देशनमा चेक साटिएको र त्यसमा अरू कर्मचारीको संलग्नता नभएको जवाफ पठाएको थियो। २०६८ फागुनमा उजुरी परेकोमा करिब ३ वर्षछि अख्तियारले मुद्दा दायर गरेको हो। याे खबर आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1