वैदेशिक रोजगारीका नाममा ठग्नेलाई डेढ करोड बढी जरिवाना

काठमाडौं – वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार ठगीसम्बन्धी एक मुद्धाका पीडितहरुले बिगो र त्यसको ५० प्रतिशत हर्जाना पाउने फैसला गरेको छ । हङकङ र अमेरिकास्थित विभिन्न कम्पनीहरुमा रोजगार दिलाइदिने बहानामा १ करोडभन्दा बढी ठगी गर्ने अभियुक्तबाट ठगिएको रकम र त्यसको ५० प्रतिशत हर्जानासहित बिगो तिर्नुपर्ने फैसला न्यायाधिकरणले सुनाएको हो ।

मेखबहादुर गुरुङ विरुद्धको मुद्धामा फैसला गर्दै न्यायाधिकरणले उनले १९ जना पीडितलाई हर्जाना सहित १ करोड ६१ लाख ६२ हजार ५ सय रुपैंयाँ तिर्नुपर्नेछ । उनले २०५९ को चैत अन्तिमसम्ममा ९६ लाख रुपैंयाँ बराबरको रकम ठगी गरेका थिए ।

अमेरिकाका होटल र हङकङका बिमानस्थलमा मासिक १० हजार डलर कमाई हुने जागिर लगाइदिने आश्वासन दिएर उनले ठगी गरेका थिए ।ठगिएपछि मानव अधिकारका लागि जनमञ्च(पिपुल्स फोरम) ले पीडितहरुको वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेका थिए ।

जाहेरवालाहरु मध्ये परशुराम आचार्यसँग ७ लाख, रुद्रप्रसाद घिमिरेसँग ५ लाख, डोरकुमार घिमिरेसँग ३ लाख, राजु लामा र पूजा लामासँग ८ लाख सहित मेखबहादुरले १९ जनासँगबाट करिव १ करोड रकम उठाएका थिए ।

पीडित मध्येका एक राजु लामाले आफूहरुलाई हङकङको डान्सबारमा जागिर लगाइदिने भनेर रकम उठाएको बताए । उनका अनुसार मेखबहादुरले एक महिनाभित्र सवैलाई काममा पठाइदिने आश्वासन दिएका थिए ।

अर्की पीडित रञ्जना गुरुङ मेखबहादुरले आफूहरुलाई मासिक १ लाख कमाई हुने आश्वासन दिएर ठगेको बताइन् । “म नेपाली सेनाको प्रधानसेनापति छत्रमान गुरुङको ज्वाई हुँ, मेरो हङकङको आइडी छ, त्यसैले जागिरको कुनै चिन्ता गर्नु पर्दैन भनेर ठग्यो” उनले भनिन् ।

पर्वत स्थायी घर भएका गुरुङले पहिला पनि आफूले दर्जनौं मानिसलाई वैदेशिक रोजगारीमा पठाएको दावी गरेका थिए । वैदेशिक रोजगारीमा जान चाहेका सवैसँग पैसा लिइसकेपछि उनले सवैलाई काठमाडौंको सिनामंगलस्थित एक होटलमा जम्मा पारेर आफू भनें फरार भएका थिए ।

यो खवर राजधानी दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय