
बाग्लुङ- काम गरिरहेकै स्थानमा साउदी अरबमा हत्या गरिएका छिम्दि ७ का कविराज परियारको परिवारले अझै राहत पाएको छैन । २०६६ कात्तिक १९ मा ड्युटीमै रहेका बेला उनको हत्या भएको थियो । परिवारले राहत, बाँकी पारिश्रमिक र बिमा वापतकोे रकम पाएका छैनन् । राहतको खोजीका भौतारिंदा पनि नपाएपछि पत्नी विष्णुमाया निराश छिन् । विद्यालय जाने चार सन्तान र एसएलसी उत्तीर्ण एक छोरी दिनरात मजदुरी गर्न बाध्य छन् ।
पतिको कमाईका भरमा बाँचेका उनीहरुको जीवन कष्टपूर्ण भएको छ । साहुको भारी खेप्ने र मेलापात नगरे दुईछाक खान सकिंदैन विष्णुमायाले भनिन् राहत र पारिश्रमिकका लागि बोलिदिने कोहि भएन ।
परराष्ट मन्त्रालय र बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पटक पटक धाए पनि कसैले चासो नदिएको उनको गुनासो छ । सडक नजोडिएको छिम्दिमा दैनिक उपभोग्य सामग्री पर्वतको फलेवासबाट बोकेरै खेप्नुपर्छ ।
कविराज विदेश जाँदा विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋण अझै तिरेर नसकिएको पनि उनले बताइन् । तामेसी कम्पनीमा कार्यरत परियारको हत्यापछि ६ महिनासम्म शव आएन, लिन गएका भाञ्जा सुरजको पनि साउदीमै सडक दुर्घटनामा मृत्यु भयो । पीरले विष्णुमाया रोगि भइन् । हाल उनी कडा काम गर्न नसक्ने भएकी छिन् ।
परियारका दुई दाजुमध्ये एकको लडेर तथा अर्र्काको क्षयरोगका कारण मृत्यु भइसकेको छ । बाँकी रहेकी एक बहिनी राधिकालाई पनि स्थानीय मोहनबहादुर परियारले विवाहको नाटक रचेर हत्या गरिदिए । आफन्त सवैको हत्या र मृत्यु भएपछि पाँच बालबालिकासहित विष्णुमायाको परिवार विचल्लीमा परेको हो ।
परियारको कागजात कतै रोकिएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय, बाग्लुङका लेखा अधिकृत युवराज शर्माले बताए ।
यो खवर कान्तिपुर दैनिकमा छापिएको छ ।