
काठमाडौ, ३० कार्तिक – सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य मुलुकले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ । सरकारले भारतसँग सहयोगस्वरूप गाडी ल्याएकामा कूटनीतिक रूपमा विरोध जनाउँदै पाकिस्तानी प्रतिनिधिमण्डलले आफू सवार हुने गाडी आफैं ल्याउन लागेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झैं पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढ्ने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी नेपाललाई दिइसकेको उच्च स्रोतले पुष्टि गरेको छ । अन्य अधिकारीको हकमा पनि केही गाडी इस्लामावादबाटै ल्याइने पाकिस्तानले जानकारी दिएको छ ।
ईकान्तिपुर डट कमका अनुसार भारतबाट ६ वटा बुलेटप्रुफ गाडी काठमाडौं आइपुगेकै दिन शनिबार पाकिस्तानले पनि आफू चढ्ने गाडी आफैं ल्याउने टुंगो लागेको हो । परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले पनि आफू चढ्ने गाडीको व्यवस्था आफैंले गर्ने हुनाले सहयोग गरिदिन आग्रह भएको हो । राष्ट्रप्रमुख आउँदा आफ्नै गाडी ल्याउने पुरानै चलन हो ।’
नेपाल सरकारसँग विदेशी राष्ट्रप्रमुखलाई चढाउने बुलेटप्रुफ गाडी नहुँदा यस्तो समस्या परेको हो । ‘सरकारले यहाँ रहेका दुई बुलेटप्रुफ गाडी मर्मत गरेर त्यसमा सवार गराउने भन्दै पाकिस्तानी पक्षलाई विश्वस्त तुल्याउन सकेको भए उनले गाडी ल्याउने थिएनन्,’ एक अधिकारीले बताए । तर त्यसमा ध्यान नदिइएको र मन्त्रालयका अधिकारीहरूले राजनीतिक तहमा कुरा नपुर्याएको कारण यस्तो समस्या परेको हो । श्रीलंका, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्सले भने भारतीय सहयोगको गाडी नै उपयोग गर्ने छन् ।
राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालाले चढ्नेबाहेक दुई नयाँ बुलेटप्रुफ गाडी नेपालसँग छन् । तर त्यसको मर्मतसम्भार भने गरिएको छैन । यसबाहेक भारतबाट ६ वटा गाडी सहयोगमा आएको हो । त्यो गाडी भारतीय कार्गो प्लेनले शनिबार काठमाडौं ल्याएको हो । उक्त गाडी ल्याउनेबित्तिकै नेपाली सेनाको जिम्मामा पठाइएको छ । सेनाको संरक्षणमै सुरक्षा हुने र सेनाका चालकले नै गाडी चलाउने हुनाले उनीहरूलाई बुझाइएको परराष्ट्र अधिकारीले जानकारी दिए ।
मोदी चढ्ने दुई गाडी भने उनीसँगै विमानबाट ल्याइनेछ । अर्का दुई गाडी जनकपुर र लुम्बिनीमा उपयोग हुने भएका छन् ।
सबै राष्ट्र एवं सरकार प्रमुख मंसिर ९ मा आउने भएका छन् । मोदी जनकपुर भएर आउनेछन् भने अन्य सबै सोझै काठमाडौं आइपुग्ने छन् । काठमाडौं आएलगत्तै श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे लुम्बिनी जानेछन् । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे स्वयम्भू जानेछन् । अन्यको कार्यक्रम भने खुलाइएको छैन ।