अर्काको पासपोर्ट बोक्दाको हैरानी

दोहा (कतार), २२ कार्तिक- दलालद्वारा अर्काको राहदानीमा कतार पठाइएका रामज्ञा हजारी गत मे १८ मा नेपाल र्फकन लाग्दा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । नक्कली राहदानी बोकेको अभियोग लागेका उनमाथि त्यहाँको प्रहरीले छानबिन गरिरहेको छ ।

सन् २००८ जुलाई २० मा यहाँ आएका उनको पासपोर्टमा नाम रामविश्वास चौधरी छ । ‘फोटो मेरो हो,’ उनले भने,’पासपोर्ट अरूकै हो ।’ काठमाडौंबाट हिँड्ने बेला त्रिभुवन विमानस्थलमा म्यानपावर एजेन्ज सर्लाहीका गगन देउ साहले उक्त पासपोर्ट दिएका थिए । उनले पैसासँगै सक्कल पासपोर्ट पनि एजेन्टलाई बुझाएका थिए ।

विमानस्थलमा पुगेपछि मात्रै एजेन्टले अर्काको पासपोर्टमा उनको फोटो टाँसेर दिएका थिए । ‘राम्रो भिसा छ । यो राहदानीमा तिम्रो नाम छैन भन्दै दियो,’ उनले भने, ‘विमानस्थलमा कसैले सोध्यो भने मेरो नाम रामविश्वास चौधरी भन्नु भनेर सम्झाए ।’  काठमाडौं विमानस्थलमा कतै केरकार भएनन् । दोहामा पनि पास भयो । यहाँ आइसकेपछि कम्पनीमा पनि चौधरीकै नामले चिनिए । उनले एजेन्ट साहलाई १ लाख २० हजार रुपैयाँ बुझाएका थिए । उनी मासिक १२ सय रियालमा काम भनी गए पनि त्यहाँ पुगेर सुख्खा ६ सय रियाल मात्र पाए । त्यतिखेर उनी फर्किहाल्ने मनस्थिति बनाए । तर, घरघडेरी धितोमा राखेर लिएको ऋणको झलझल्ती याद आयो । एजेन्टले पैसा फर्काएन भने डुबिन्छ भनेर र्फकने आँट गरेनन् ।

रामज्ञा यहाँ लेबर काम गर्थे । बल्लबल्ल ऋण तिरिसकेपछि थप दुई वर्ष काम गरे । साथमा थोरै रकम भएपछि घर जान तयार भए । तर, जानेबेला पासपोर्ट प्रकरणमा समातिए । त्यतिखेर दुई दिनसम्म थुनामा परेपछि उनलाई प्रहरीले छाडिदियो । ‘दूतावासमा अर्को राहदानी बनाएपछि घर जानु’ भन्दै प्रहरीले पठाइदियो । उनी सोझै दूतावास गए । अर्काको राहदानीमा आएको थाहा पाएपछि दूतावासले सक्कल नागरिकता माग गर्‍यो । उनले आफू बंगाली नभएको प्रमाणित गर्न सक्कल राहदानी नै पेस गरे । सग्रामपुर ९, रौतहटबाट नागरिकता बनाएका उनले घर फिर्नका लागि ‘ट्राभल डकुमेन्ट’ पाए ।

रामज्ञाले जुन १८ तारिखमा कतार एयरवेजको टिकट बनाए । ट्रान्जिट भएर जाँदा समस्या हुने डरले महुँगो दरमा सीधै टिकट बनाए । सरासर विमानस्थल गए । ‘तिम्रो खु्रज ‘एक्जिट भिसा’ देखिएन,’ अध्यामनका कर्मचारीले फेरि भने, ‘तिमी जान पाउँदैनाै ।’

त्यस दिन पनि उनी स्वदेश फिर्न नपाएपछि ३ दिनपछि फेरि अर्को टिकट बनाएर गए । ‘यो नामको व्यक्तिको केही छैन भन्दै फेरि फर्काइदियो,’ उनले भने, ‘त्यतिखेर लगेज पनि नलिई उनी फिर्ता भए ।’ उनी सहयोगको याचना गर्दै ७ महिनादेखि दूतावास धाइरहेका छन् । दूतावास ‘मुद्दा चलिरहेको’ भन्दै पन्छिरहेको छ । उनले सहयोग नपाएको र मुद्दा जटिल बनेको बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय