साउदीमा धर्ना बसेका नेपाली मजदुरलाई घर पठाईयो

झापा, २२ कार्तिक– साउदी अरबमा विगत ४ दिनदेखि सम्झौता अनुसारको सेवा पाउनु पर्ने माग गर्दै धर्नामा बसेका तीनजना नेपाली कामदारलाई उनीहरु काम गर्ने कम्पनीले नेपाल फर्काइदिएको त्यहाँ कार्यरत नेपाली मजदुरहरुले बताएका छन् । साउदी अरबको राजधानी रियादमा रहेको दुबई साउदी अरवियन कन्सट्रक्सन कम्पनीले उनीहरुलाई नेपाल फर्काइदिएको उक्त कम्पनीमा कार्यरत मजदुर झापा दमक ८ का कमल बस्नेतले फोनमा जानकारी दिए । बस्नेतका अनुसार नेपाल फर्काइएकाहरुमा बाहुन्डाँगी झापाका विकास आचार्य, सेतोपानी नवलपरासीका पदमबहादुर महतो र नेपालगञ्ज बाँकेका नारायण थारु रहेका छन् । शुक्रबार चारजना पाकिस्तानी कामदारलाई पनि पाकिस्तान फिर्ता पठाउने भन्दै कम्पनीले चारवटा टिकट खरिद गरेर ल्याएको बस्नेतले बताए । उक्त कम्पनीमा भारतीय, पाकिस्तानी र नेपालका मजदुर आन्दोलनमा रहेको बस्नेतको भनाई छ । त्यसमा करीब एकसय मजदुर नेपाली रहेको उनले बताए । काठमाण्डौ सामाखुशीमा रहेको स्टालीन ओभरसीज मार्फत उनीहरु साउदी अरब पुगेको बस्नेतले बताए । कम्पनी आठसय पचास साउदी दिने भनेर त्यहाँ पुगेको र केही समय काम गरेपछि दस प्रतिशत रकम बृद्धि गर्ने भने पनि त्यसो नगरी कम्पनीले काममा मात्र पेल्न खोजेको चार दिनदेखि काममा नगइ उनीहरु धर्नामा बसेका छन् । धर्नामा पाँचसय मजदुर सहभागी रहेको उनीहरुको भनाई छ । कम्पनीले केही मजदुरलाई घर पठाएपछि अन्य मजदुर तर्सेर काममा लाग्छन् भन्ने रणनीति लिएको मजदुरहरुले बताएका छन् । तर उनीहरुलाई पनि घर पठाइदिए खुशीसाथ घर फर्कने मजदुरहरुको भनाई छ । बस्नेतले भने, ‘साथीहरुलाई पठाइदिएपछि हामी काममा जान्छौं भनेर कम्पनीले साथीहरुलाई घर फर्काएको हुनसक्छ । तर हामीलाई फर्काइदिए राम्रो हुन्छ । हामी यो पीडा सहेर बस्न सक्दैनौं ।’ मजदुरहरुका अनुसार उनीहरुले विहान पाँच बजेदेखि बेलुका सात बजेसम्म काम गर्नु परिरहेको छ । धेरै पटक अनुरोध गर्दा पनि माग सुनवाई नभएको उनीहरुले बताएका छन् । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय