
घनश्याम पराजुली(कृष्ण), दोहा- एक जना नेपाली युवा कतारमा हुने साँस्कृतिक कार्यक्रमहरुमा कम्मर मर्काई–मर्काई गीत गाउन पुगिहाल्छन् । गीत गाउनमात्र नभै संगित भर्न र गीतका शब्द कोर्न पनि उनी उत्तिकै अब्बल छन् । उनी हुन् दाङका शरद पाण्डे ।
शरद पाण्डेनेपालमा रहँदानै उनले विभिन्न विधाका गितहरु रचना गर्दथे । प्रवास आईपुगेका शरदले आफ्नो रुचिलाई कहाँ त्यसै छोड्न सक्थे, यहाँ उनले आफ्नो कलालाई झन् बढी निखारता दिंदै छन् । तिन बर्षदेखि कतार बस्दै आएका पाण्डेले गित लेख्ने , संगित भर्ने तथा आफैले स्वर दिने गरेका छन् ।
‘नेपालका कार्यक्रमहरुमा म दोहोरी गाउँथे ।’ नेपालका पुरानो दिन सम्झदै उनले भने, ‘गाउँका दोहोरी प्रतियोगिताहरुमा प्रथम भएको संझना ताजै छ, त्यसैले हौसला मिलिरहेको छ ।’ पाँच बर्ष देखी कलाकारीता क्षेत्रमा लागेका उनलाई आमा मिना देवी पाण्डेबाट प्रेरणा मिलेको हो ।
संगित प्रतीको रुचीले मात्र पेट पाल्न सक्ने अवस्था नभएकाले काम खोज्दै कतार आईपुगेको उनी बताउँछन् । गीत गाएर राम्रो आम्दानी गर्नुभन्दा पनि स्थापित हुनकै लागि धेरै लगानी गर्नुपर्ने उनले बताए । मध्यमवर्गिय परिवारका लागि आँफै खर्च जुटाएर आफ्नो रुचि पुरा गर्नु असम्भवजस्तै भएको उनले बुझेका छन् । कलाकारीताको क्षेत्रबाट गुजारा चल्न गाह्रो छ त्यसैले आफु जस्तै धेरै प्रतिभाशाली व्यक्तीहरु विदेश पस्न बाध्य भएको उनले बताए । कतारमा आएपछी उनले तिनवटा एल्बम निकालीसकेका छन् भने दुईबटा एल्बम बजारमा आउने तरखरमा छन् ।
‘सरप्राईज’ नामक एल्बममा ‘कसले बुझ्छ पिडा म पिउने मान्छेको , आफैलाई विर्सिएर जिउने मान्छेको…’ बोलको गित बजारमा आईसकेको छ । युवाले रुचाएको गितमा पाण्डेको शब्द र संगित तथा कुमार रानाको स्वर छ ।
भर्खर बजारमा आएको उनको राष्ट्रिय गित प्रवासमा काम गर्ने नेपालीहरुका दुःख सुखलाई समेटेर लेखेका हुन । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा ‘चारै तिर धुलो माटो अनी तातो हावा चल्छ , पसिनाले भिजेको ज्यान यो मुर्छा पर्दै ढल्छ , नेपाल आमा तिमी बिना एक्लो भए भए म यहाँ..’ जस्ता गहकिला शब्दहरु समेटिएका छन । ‘हाम्रो चोखो माया’ नामक लोकदोरी एल्बमको तयारीमा रहेका उनले कतारमानै कार्यरत डोलराज परियार र विष्णु माझिको स्वर रहने बताए ।
‘प्रवासमा छु संगितलाई निरन्तरता दिने कोशिस गरिरहेको छु ।’ उनले भने, ‘नेपालमा सांगितीक क्षेत्रको विग्रदो अवस्था प्रती चिन्ता लाग्छ ।’