कतारमा कोमामा रहेका नेपालीलाई फर्काउन पहल

दोहा (कतार), २१ कार्तिक – कतारको सरकारी हमाद अस्पतालले कोमामा रहेका १० नेपालीलाई घर पठाउन नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ । आठ वर्षदेखि कोमामा रहेर उपचार गर्दै आएका बिरामीको अवस्था बुझ्न पुगेका दूतावास अधिकारीहरूलाई अस्पतालले सुधार भएकाहरूलाई परिवारसँग भेटाउनु उचित हुने सुझाव दिएको हो ।

अस्पतालका अधिकारीहरूले ‘आफ्ना नागरिकको बेवास्ता गरेको भन्दै’ दूतावासको ध्यानाकर्षण गराएका थिए । ‘यहाँ भएका नेपालीको अवस्था बुझ्न दूतावासका अधिकारी कहिल्यै आएनन्,’ त्यहाँका अधिकारीको भनाइ थियो, ‘आफ्ना नागरिकको रेखदेख गर्ने दायित्व दूतावासको हो ।’ हमादले दूतावासले यसमा सहयोग र समन्वय नगरे माथिल्लो तहबाट नेपाल सरकारसमक्ष अनुरोध गरिने समेत बतायो ।

कतारका लागि कार्यवाहक राजदूत गणेश ढकालले भने हमादको भनाइको खण्डन गरेका छन् । ‘हामीले ती नेपालीको विषयमा चासो दिइरहेका छौं । हाम्रा प्रतिनिधि बेलाबेला गएर अवस्था बुझ्ने काम भइरहेको छ,’ उनले भने । ढकालले उनीहरूको क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म र परिवारले बुझ्ने इच्छा नजनाएसम्म पठाउन नसकिने बताए ।

हमादका विभिन्न शाखामा दर्जनभन्दा बढी नेपाली कोमामा छन् । उसले शान्तिनगर-८, दाङका भक्तबहादुर रस्ताकोटी, सिराहका मोहम्मद फिरोज, डाँडाखेरी-८, सुर्खेतका ३८ वर्षीय हरिबहादुर बस्नेत, रुकुमका २० वर्षीय मनोज केसी, धनुषाका ४४ वर्षीय बिन्देमुखिया बिन, गोरखाका ४५ वर्षीय कालु गुरुङ, नारायणस्थान-९, बागलुङका ३७ वर्षीय विष्णुबहादुर सुवेदी, महेशपुर-१, झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ, जेरीप्रसाद र कुबेला ठाकुरलाई स्वदेश पठाउने सूचीमा राखेको छ । सूचीमै रहेका एकजनाको नाम अस्पतालको दर्तामा बहादुर छ । उनको अन्य विवरण खुलेको छैन । उनीहरू सबै सडक दुर्घटनामा परेर कोमामा गएका हुन् ।

हमादले ती बिरामीलाई घर पठाउन नेपालबाट अस्पतालको ग्यारेन्टी खोजेको छ । त्यसका लागि नेपाली दूतावास र नेपाली समुदायको सहयोगसमेत चाहेको छ । ‘सम्बन्धित कम्पनीबाट यसको क्षतिपूर्तिका लागि नेपाली दूतावासले मुद्दा लडिदिनुपर्छ । यो दूतावासको दायित्व हो,’ एक अधिकारीले भने ।

हमादले बिरामीसँगै दुई चिकित्सक नेपाल पठाउने जनाएको छ । त्यसका लागि नेपालको अस्पतालले जिम्मा लिनुपर्नेछ । ‘हामीलाई अस्पतालले जिम्मा लिनुपर्ने कागज चाहिन्छ’ उनले भने, ‘नेपाल लगिसकेपछि पनि दुई महिनासम्मको उपचार खर्च हामी बेहोर्ने छौं ।’

नेपाली दूतावासको रेकर्डअनुसार कास्कीका तिलप्रसाद अधिकारी, ढिकुरपोखरी, कास्कीका ३० वर्षीय कुलप्रसाद अधिकारी (सम्भवतः पठाइएको), हरिचौर-१, बागलुङका २९ वर्षीय गिरीप्रसाद विक, २५ वरषीय खुमलाल हजाम, रामचन्द्र अधिकारी, धनुषाकै ४३ वर्षीय श्यामबाबु यादव, तिलप्रसाद अधिकारी र सिन्धुलीका डोलिया अधिकारी पनि कोमामा छन् ।

त्यस्ता बिरामीलाई घर पठाउन गैरआवासीय नेपाली संघ कतारले अस्पताल र दूतावासबीच समन्वयको पहल गरीरहेको छ । अध्यक्ष मक्सुद आलम भन्छन्, ‘जुन बिरामीको उपचार सकिसकेको छ, त्यस्तालाई परिवारसँग भेटाउनुपर्छ ।’ आफूहरूले कागजात जुटाएर सघाउन खोजेको उनले बताए । ‘मूल दायित्व दूतावासको हो । हामीले सहयोगी भूमिका निर्वाह गर्न खोजेको हो,’ उनले भने ।

यो खबर  र तस्विर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: