भारतीय अभिनेत्रीलाई मनपर्छ नेपाली गहना

काठमाडौं-बलिउडकी चर्चित अभिनेत्री रविना टण्डन मंगलबार काठमाडौं आएकी छन् । नेपाल सुनचाँदी तथा रत्न अथा आभुषण महासंघले आयोजना गर्न लागेको फेशन शो तथा ज्वेलरी एक्स्पोमा सहभागी हुन उनी राजधानी आएकी हुन्। रविना बुधबार हुने फेसन शोमा ‘शो टपर’ को रुपमा नेपाली गहनाका साथ ‍र्‍याम्पमा उत्रनेछिन्। फेसन शो तथा ज्वेलरी एक्स्पोमा रविनाको सहभागिताका सम्बन्धमा जानकारी दिन मंगलबार बेलुकी याक एण्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै रविनाले नेपाल आउन पाउँदा खुशी लागेको बताइन्।

‘सगरमाथा र गौतमबुद्धको भूमि नेपालमा आउन पाएकोमा धेरै खुसी लागेको छ। चलचित्र हरे राम हरे कृष्णमा काठमाडौँ देख्दा नै एकदिन यहाँ जान्छु भन्ने सपना थियो, उनले भनिन् ‘आज आएर त्यो सपना पूरा भएको छ ।

विमान चालकले ‘हामी सगरमाथाको नजिक छौँ’ भन्दा आफ्नो मनमा अतभूत आनन्द आएको पनि उनले बताइन्। ‘विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने मौका त नमिल्ला तर नेपाल आउँदा सगरमाथाको नजिक हुन पाएको महसुस भयो’ उनले भनिन्।
धेरै कुरामा समानता रहेको भारत र नेपालको वर्षौदेखिको सम्बन्ध रहेको बताउँदै नेपालको परम्परागत गहनालाई बुधबारको शोमार्फत प्रबर्द्धन गर्ने उनले बताइन्। नेपालमा जस्तो २४ क्यारेटको शुद्ध सुनका गहना अन्त कतै नपाइने भन्दै ज्वेलरी एक्स्पोबाट गहना खरिद गरेर भारत फर्किने उनले बताइन्। ‘गहना मननपर्ने नारी यो संसारमा सायदै कोही होला’ टण्डनले थपिन्, ‘ गहनाले नारीको सुन्दरतामा अझ निखार ल्याउँछ।’
नेपाल र गहना दुबै मेरो प्राथमिकतामा भएकाले आयोजकबाट सहभागिताको प्रस्ताव आउनासाथ केही नसोची हुन्छ भनिदिएँ’ रविनाले थपिन्, ‘नेपालमा भिन्दै खालको संस्कृति र परम्परा छ।’ मेलामा आफ्नो सहभागिताले गहनालार्ई अझ विश्वव्यापी बनाउन मद्वत गर्ने उनले अपेक्षा गरिन् । ‘गहनामा लगानी भनेको सबैभन्दा उत्तम र सुरक्षित लगानी हो। यसको मूल्य कहिल्यै घट्दैन, बरु सँधै बढ्छ’ नेपालका गहना खरिद गर्न आफू आतूर रहेको जनाउँदै उनले भनिन्। आफूले यो भन्दा पहिला कहिल्यै नेपाली गहनामा नसजिए पनि अब नेपालको गरगहनालाई भारत गएर पनि प्रबर्द्धन गर्ने उनले बताइन्।
नेपाल सुनचाँदी तथा रत्न तथा आभुषण महासंघको आयोजनामा नेपाल रत्न तथा आभुषण संघले कात्तिक २१ देखि दोस्रो बृहत रत्न तथा आभूषण प्रदर्शनी आयोजना गर्न लागेको हो। ‘टेकिङ नेपलिज ज्वेलरी ग्लोबल्ली (नेपालको गहना विश्वभर पुर्याउँदै)’ भन्ने नाराका साथ बुधबारदेखि दरबारमार्गस्थित याक एन्ड यती होटलमा उक्त प्रदर्शनी सञ्चालन हुनेछ। टण्डन प्रदर्शनीको मुख्य शो टपरका रुपमा देखा पर्नेछिन भने नेपालका तर्फबाट नायिका तथा मोडलहरु पनि नेपाली गरगहनाका साथमा र्यारम्पमा देखापर्नेछन्।
नेपालको मौलिक कालिगढ, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तर जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने उद्देश्यले सो प्रदर्शनी आयोजना गर्न लागेको संघका अध्यक्ष मनिषलाल प्रधानले बताए। तीन दिन सम्म चल्ने उक्त प्रदर्शनी १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

यो खवर नागरिक दैनिकबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय