
झापा, कात्तिक १८ – मृगौला रोगबाट पीडित शिवगञ्ज बहुमुखी क्याम्पसमा बीबीएस दोश्रोे बर्षमा अध्ययनरत २२ वर्षीया मनिषा लम्सालको विदेशमा रहेका नेपालीकोे सहयोगमा उपचार भइरहेको छ ।
उनको उपचारका लागि हालसम्म विभिन्न देशबाट गरी ३ लाख २५ हजार परिवारले प्राप्त गरेको छ । मनिषाको उपचारका लागि अमेरिकामा कार्यरत शिवगन्ज स्थायी घरभएका डाक्टर मदन उप्रेतीको संयोजकत्वमा युरोप, क्यानडामा कार्यरत जनआदर्शका भूपूविद्यार्थीहरुले झण्डै दुई लाख रकम संकलन गरी परिवारलाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी कोरियाबाट ८८ हजार तथा युएईबाट १ लाख ३५ हजार सहयोग आएको मनिषाकी आमा तारादेवी लम्सालले बताइन् ।
हाल विराटनगरमा रहेको मोरंग सहकारी अस्पतालमा मनिषाको उपचार भइरहेको छ । झण्डै दुई महिनासम्म डाइलासिस गराएपछि अहिले मनिषाको अवस्थामा केहि सुधार भएको तारादेवीले बताइन् ।
मृगौलामा समस्या आएपछि भारतमा लगेर उपचार गराएर फर्केको परिवारले ६ लाख खर्च गरेपछि आर्थिक सहयोगका लागि दातासँग अपिल गरेको थियो ।
मनिषाको उपचारका लागि त्यसपछि विश्वका विभिन्न देशमा सहयोग संकलको काम सुरु भएको थियो । उनको उपचारका लागि यूएई, कतारसँगै अमेरिका, क्यानाडा लगायतका देशमा सहयोग संकलन गरी पठाइएको थियो ।
मनिषाको उपचारमा संलग्न चिकित्सकहरुले उनको मृगौला फेर्ने तयारी गर्न परिवारलाई जानकारी दिइसकेको छ । मनिषाकी आमा तारादेवीका अनुसार उनलाई मधेमेह भएको, बाबुसँग रक्त समुह नमिलेका कारण मृगौला प्रत्यारोपणको टुँगो लागिसकेको छैन ।