
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने मेडिकलले महिलाको प्रतिव्यक्ति ३१ सय र पुरुषको २९ सय ४० रुपैंयाँ भन्दा बढी शुल्क लिन नपाउने गरी शुल्क तोकेको छ । तर १२ वटा मेडिकल सेन्टरले सरकारी निर्णया अवज्ञा गर्दै लामो समयदेखि ५५ सय रुपैंयाँ असलिरहेका छन् ।
जिसीसी अप्रुभ्ड मेडिकल सेन्टर एसोसिएसन(गाम्का) मा आवद्ध १२ वटा मेडिकलले ओमन, साउदी अरब र बहराइन जाने कामदारसँग स्वास्थ्य परिक्षणबापत बढी शुल्क असुलेका हुन् । स्वास्थ्य र श्रम मन्त्रालयले २०६५ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्दा महिलासँग ३१ सय र पुरुषसँग २९ सय ४० रुपैंयाँ लिन पाउने गरी सचिवस्तरीय निर्णयबाट शुल्क तोकेको थियो ।
अनुगमन र कारबाही नभएपछि मेडिकलले सरकारी निर्णयकै अवज्ञा गरेर सेवाग्राहीमाथि आर्थिक भार थोपरेका हुन् । नागरिक दैनिकमा प्रकटकुमार शिशिर लेछन् कामदार, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघ लगायतले पटक पटक विरोध गरे पनि ति मेडिकलले चर्को शुल्क लिन छोडेका छैनन् ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले ति मेडिकलहरुले लामो समयदेखि स्वास्थ्य परिक्षण गदौ बढी शुल्क लिइरहेको बताए । खाडी मुलुकका केहि देशमा जाने कामदारको स्वास्थ्य परिक्षण गाम्का नेपालको मेडिकलमा गर्नुपर्ने हुन्छ । नियमनकारी निकायलाई समेत आर्थिक प्रभावमा पारेर नियमको अवज्ञा गरिएको उनको भनाइ छ ।
१२ वटा मेडिकललाई मात्र स्वास्थ्य परिक्षण गर्न दिनु कानूनविपरीत रहेको भन्दै सरकारले केहि महिनाअघि गल्फ कोअपरेसन काउन्सिललाई पत्र समेत पठाएको थियो । पत्रमा यो अभ्यास नेपालको प्रतिस्पर्धा, प्रवद्र्धन तथा बजार संरक्षण ऐन र वैदेशिक रोजगार ऐन विपरीत रहेको उल्लेख छ ।
सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षणका गर्न पाउने गरी ३ सय ५० वटा संस्थालाई सूचिकृत गरेपनि साउदी, बहराइन र ओमनले गाम्कामा आवद्ध १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गरेकालाई मात्र मान्यता दिंदै आएका छन् । तर श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गाम्का विरुद्ध उजुरी नआएकाले कारबाही गर्न नसकिएको बताए । गाम्का नेपालका पदाधिकारी भनें यसबारेमा बोल्न चाहेनन् ।
नागरिक दैनिकबाट