नेपाली कम्पनीकै कारण विदेशबाट फोन गर्दा शुल्क महंगो

रोशन अधिकारी, काठमाडौ, कार्तिक १४ – विदेशबाट नेपाल फोन गर्दा महँगो शुल्क लाग्नुको कारण नेपाली दूरसञ्चार कम्पनी देखिएका छन् । दूरसञ्चार कम्पनीले अन्तर्राष्ट्रिय फोन आउँदा एक अर्कासँग लिनेे अन्तरआबद्धता (टर्मिनेसन) शुल्कमा ‘कार्टेलिङ’ गरेकै कारण महँगो पर्ने गरेको हो । विदेशबाट आएको कल टर्मिनेसन गर्ने अधिकार पाएका ६ दूरसञ्चार कम्पनीले ‘सहमति’ गर्दै यस्तो शुल्क ५ रुपैयाँ प्रतिमिनेट राखेका छन् । यसकै कारण विदेशी कम्पनीले चाहेर पनि नेपालमा हुने कल योभन्दा सस्तो बनाउन नसकेको खवर आजको कान्तिपुरले छापेको छ । दूरसञ्चार प्राधिकरणले यस्तो दर २०६७ मा घटाउन प्रयास गरे पनि त्यसपछि भने पहल र नियमन गरेको छैन । टर्मिनेसन भनेको एक कम्पनीले अर्को कम्पनीलाई कल उपलब्ध गराउनु हो । ‘टर्मिनेसन शुल्कबारेको तथ्यांक प्राधिकरणले लिने गरेको छैन,’ दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानले भने, ‘तर पछिल्लो अध्ययनले यो शुल्क कम्पनीहरूले आफैं तय गरेर ५ रुपैयाँ प्रतिमिनेट लिने गरेको देखिएको थियो ।’ विदेशबाट आउने कल महँगो हुनमा टर्मिनेसन शुल्कसहित सम्बन्धित मुलुकको कम्पनीको पनि हात हुन्छ । कल गर्ने थोरै भए नाफा कम हुने हुँदा विदेशी कम्पनीले पनि बढी शुल्क लिन्छन् । तर भारतसहित वैदेशिक रोजगारीमा धेरै नेपाली जाने खाडी मुलुकबाट पनि नेपाल फोन गर्न महँगो शुल्क लाग्छ । पछिल्लो समय भारतीय कम्पनीले नेपालकै टर्मिनेसन शुल्क बढी भएकाले थप दर घटाउन नसक्ने उल्लेख गरेका थिए । विदेशबाट कल आउँदा नेपालका ६ वटा कम्पनीमा अन्तर्राष्ट्रिय कल टर्मिनेसन हुन्छ । यो सेवाबापत नेपालका कम्पनीले विदेशी दूरसञ्चार कम्पनीसँग शुल्क लिन्छन् । आएको कल आफ्नै नेटवर्कको भए ग्राहकलाई र अर्को नेटवर्कको भए त्यता पुनः टर्मिनेट गरिन्छ । यसरी अर्को नेटवर्कमा कल टर्मिनेट गर्दा प्रतिमिनेट ५ रुपैयाँ शुल्क बुझाउनुपर्ने भएकाले आफूलाई पनि फाइदा हुने गरी विदेशी कम्पनीसँग रकम लिने गरेका छन् । दूरसञ्चार प्राधिकरणले २०६७ मा अध्ययन गरेर यस्तो शुल्क घटाउन खोज्दा कम्पनीले नमानेपछि विदेशबाट आउने फोन सस्तो हुन सकेको छैन । उक्त समय प्राधिकरणले यस्तो शुल्क घटाउँदै लगेर शून्य बराबरसम्म झार्ने तयारी गरेको थियो । ‘दुई ठूला कम्पनीले यस्तो शुल्क कम हुन नदिएका हुन्,’ टर्मिनेसन शुल्कका विषयमा अध्ययन गरेका दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कणेलले भने, ‘शुल्क कम भए सानाले नाफा लैजालान् भन्ने सोच छ ।’ मुलुकभित्र लिँदै आएको टर्मिनेसन शुल्क कम भए त्यसले विदेशबाट फोन गर्दा लाग्ने खर्च घटाउन मद्दत गर्ने उनले बताए । ‘यस्तो शुल्क कम गर्न सके विदेशबाट फोन गर्दा लाग्ने शुल्क कम हुन्छ,’ उनले भने । कतिपय मुलुकबाट नेपाल आउने फोनको मात्रा कम हुँदा पनि शुल्क बढी लाग्ने गरेको उनले बताए । ‘नेपाल आउने कलको संख्या कम भएकाले पनि केही मुलुकबाट दर महँगो भएको हुन्छ तर त्यसलाई पनि कम गर्न पहल गर्न सकिन्छ,’ उनले भने । धेरै नेपाली रोजगारीमा गएको मलेसिया, कतार, दुबईलगायत खाडी क्षेत्रबाट पनि नेपाल फोन गर्न महँगो छ । दूरसञ्चार सेवा उपलब्ध गराउने दुई मुलुकका कम्पनीले एकाउन्टिङ रेट तय गरेर त्यसअनुसार रकम आदानप्रदान गर्ने गरेको उनले बताए । ‘यस्तो दर पारदर्शी हुँदैन,’ उनले भने, ‘नेपाली कम्पनीले चाहिँ ५ रुपैयाँ अन्य कम्पनीलाई बुझाउनुपर्ने कारण देखाउँदै महँगो दर लिने गरी सम्झौता गरेका हुन्छन् ।’ नेपालभित्र एउटा सेवा प्रदायकले अर्कोसँग लिने टर्मिनेसन शुल्कको सम्बन्ध विदेशबाट आउने कलमा नहुने टेलिकमका सहप्रवक्ता राजेश जोशीले बताए । उनले प्रविधिका कारण सेवाको मूल्य फरक परेको बताए । ‘हामीकहाँ जस्तो कोड डायल गरेर फोन गर्ने प्रविधि अरूकहाँ छैन,’ उनले भने, ‘त्यही भएर महँगो परेको हो ।’ गुणस्तरका कारण पनि सेवा महँगो र सस्तो हुने उनले बताए । तर भारतलगायत मुलुकमा यस्तो शुल्क नियमन हुने गरेको छ । भारतमा यस्तो शुल्क ४० पैसाको हाराहारी छ । मुलुकभित्रै पनि एउटा कम्पनीबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा कल टर्मिनेसन हुन्छ । तर यस्तो कलमा भने शुल्क प्रतिस्पर्धी राखिएको छ । ‘विदेशबाट आएको कल एउटा कम्पनीले अर्कोलाई उपलब्ध गराउँदा ५ रुपैयाँको साटो लोकल कल गरेजति मात्रै शुल्क लाग्नुपर्ने हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर नाफा बढी कमाउने उद्देश्यले यसलाई कम गरिएको छैन ।’ नियमन गर्न सक्दैन प्राधिकरण दूरसञ्चार प्राधिकरणले ०६५ सालमा ल्याएको ‘इन्टरकनेक्सन गाइडलाइन’ ले मुलुकभित्र सेवा प्रदायकबीच हुने र बाहिरबाट आउने हुने कल टर्मिनेसनको समेत शुल्क तोकेको छ । जसअनुसार बाहिरबाट कल आउँदा यस्तो शुल्क १ रुपैयाँ ८० पैसाभन्दा बढी लिन नमिल्ने व्यवस्था छ । तर सेवा प्रदायक कम्पनीले नमानेपछि उक्त नियम लागू भएको छैन । त्यसपछि प्राधिकरणले २०६७ मा पुनः एक अध्ययन गरेर यस्तो शुल्क घटाउन खोजेको थियो । तर दूरसञ्चार कम्पनीको विरोधका कारण यो अझै लागू भएको छैन । ‘प्राधिकरणले हालसम्म अन्तर्राष्ट्रिय कलका निमित्त अन्तरआबद्धता नियमन नगरेको हुनाले मुख्य अनुमति प्राप्त सेवा प्रदायकहरूले आफ्ना अन्तर्राष्ट्रिय आगमन कलका महसुल दरहरू समसामयिक नबनाउने, अत्यधिक अन्तरआबद्धता शुल्क लिने र आफ्ना पूर्वाधारमा अन्य सेवा प्रदायकहरूलाई अति न्यून मात्र पहुँच उपलब्ध गराउने गरेको प्रस्तुत अध्ययनबाट देखिन्छ,’ प्राधिकरणले गरेको अध्ययनमा भनिएको छ, ‘विधिवत रूपमा नेपालबाट विदेश कल गर्दा भन्दा विदेशबाट नेपालमा कल गर्दा लाग्ने महसुल कैयौं गुणा बढी भएको पाइएको छ ।’ उक्त अध्ययनले टर्भिनेसन शुल्क बढी हुँदा सरकारलाई राजस्व बढी आर्जन हुनुको साटो कल बाइपास बढ्ने सम्भावना धेरै रहेको उल्लेख गरेको छ । यसका साथै महँगो दर घटाउँदा सेवा प्रदायकको आयमा पनि धेरै गिरावट नआउने अध्ययनले भनेको छ । महँगो शुल्क लिने भएकाले नेपाली दूरसञ्चार कम्पनीले विदेशबाट फोन आउँदा पैसा पाउनेसम्मका योजनासमेत ल्याउने गरेका छन् । केही मुलुकबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क –    मलेसिया -म्याकसिस) – ३५ रुपैयाँ ९९ पैसा प्रति ३० सेकेन्ड –    कतार -भोडाफोन) – २६ रुपैयाँ ६८ पैसा प्रतिमिनेट –    साउदी अरेबिया -एसटीसी) – ६८ रुपैयाँ ७९ पैसा प्रतिमिनेट –     बहराइन -जैन) – १ सय १२ रुपैयाँ प्रतिमिनेट –     जापान -एनटीटी डोकोमो) – १ सय ३६ रुपैयाँ प्रति ३० सेकेन्ड –    भारत -बीएसएनएल) – १० रुपैयाँ ४० पैसा प्रतिमिनेट   कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय