नेपाली कामदारलाई उज्वेकिस्तान खुला

काठमाडौं, १२ कार्तिक- सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् । एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ)मा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ । रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ)को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ) क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । छिट्टै राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले भाषा सम्पादनका लागि कानुन मन्त्रालयमा पठाइएको बताए । उनका अनुसार कुनै म्यानपावरले कामदारसँग भिसा, हवाई टिकट र सेवा शुल्क लिए कारबाही हुनेछ । एसओएसका सञ्चालक सोमलाल बटाजूले सोभियत संघबाट टुक्रिएको मुलुक उज्वेकिस्तान पारिश्रमिकका हिसाबले खाडी र मलेसियाभन्दा राम्रो रहेको दाबी गरे । “विकास गति अगाडि बढिरहेको छ,” उनले भने, “सुविधा पनि राम्रो छ, त्यसैले त्यहाँबाट कामदार माग ल्याएका हौं । खाडी मुलुक र मलेसियामा कम्पनीपिच्छे बीमाको व्यवस्था फरक हुन्छ तर उज्वेकिस्तानमा स्पष्ट व्यवस्था छ ।” अधिकांश समय जाडो हुने भएकाले उज्वेकिस्तान नेपाली कामदारका लागि ‘फिट’ हुने दाबी बटाजूले गरे । उज्वेकिस्तान उज्वेकिस्तान क्षेत्रफलको हिसाबले ५६ औं ठूलो र भूपरिवेष्ठित मुलुक हो । यसको उच्च तापक्रम- ४० डिग्री र न्यूनतम –२३ डिग्री सेल्सियस हुन्छ । मानवअधिकारमा ऊ अब्बल मानिन्छ ।सुन परिमाणको हिसाबले चौथो र ग्यास उत्पादनमा ११ औं ठूलो मुलुक पनि हो । त्यहाँ प्रतिव्यक्ति आम्दानी १ हजार ९ सय डलर छ । बढीजसो लगानी तामा, सुन, तेल र सुनचाँदी उत्खनन्मा छ । ९० प्रतिशतभन्दा बढी मानिस मुस्लिम धर्म मान्छन् ।

याे खबर अाजकाे काराेबार दैनिकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: