बैदेशिक रोजगारीमा जाने बढे

काठमाडौं – बैदेशिक रोजगारमा जाने कामदारको संख्या असोज महिनामा ३१.५३ प्रतिशतले बढेको छ । गत बर्षको सोही महिनाको तुलनामा यसपटक बिदेसिनेको संख्या बढेको हो । गएको असोजमा कुल ३५ हजार ५ सय ५० जना नेपाली कामका लागि बिदेसिएको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

गत बर्षको सोही महिनामा जम्मा २७ हजार २९ जना कामदार विदेसिएका थिए । आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा युवा विदेसिन बाध्य भएका हुन् । चालु आर्थिक बर्षको तीन महिनामा मात्रै १ लाख २९ हजार चार सय १० जना नेपाली कामका लागि विदेसिएको तथ्याँक छ ।

विगत महिनाहरुमा जस्तै यसपटक सवैभन्दा धेरै नेपाली कामदारको रोजाइमा मलेसिया परेको छ । असोजमा मलेसियामा मात्रै १३ हजार नौ सय ७६ जना नेपाली गएका छन् । मलेसियामा इन्डोर(कम्पनी भित्रको) काम पाइने भएकाले तथा हावापानी पनि नेपालीका लागि अनुकुल भएका कारण धेरैजसो नेपाली मलेसिया जान इच्छुक हुने गरेका छन् ।

मलेसिया जाने कामदारले न्यूनतम मासिक २८ हजार रुपैंयाँ पाउँछन् । नौ सय रिंगिटभन्दा कम तलबमा काममा लगाउन नपाइने सरकारी नियमका कारण त्यसतर्फ नेपालाी कामदारको आकर्षण बढेको सम्वद्ध क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

यसैगरी खाडीका मुलुकको तुलनामा मलेसियाको समाज खुल्ला भएका कारण पनि स्वतन्त्रता अनुभव गर्न पाइने भएकाले पनि नेपाली युवा खाडीको तुलनामा मलेसिया नै जान रुचाउँछन् । हाल मलेसियामा सात लाख भन्दा बढी नेपाली कार्यरत छन् ।

मलेसियापछि नेपाली युवाको दोश्रो रोजाईमा कतार परेको छ । यो मुलुकमा असोज महिनामा ८ हजार दुई सय ७९ जना गएका छन् । कतारमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने भएकाले निर्माणको काम तिब्र रुपमा चलिरहेको हुँदा निर्माण क्षेत्रमा श्रमिकको माग उच्च छ । तर ज्यादै गर्मी हुने कतारमा निर्माणको काम नेपालीका लागि धेरै कष्टकर हुनेगरेको छ ।

नेपाली युवाको रोजाईमा कतारपछि तेश्रो नम्वरमा परेको छ साउदी अरब । साउदीमा असोज महिनामा पाँच हजार आठ सय ५३ जना नेपाली कामका लागि गएका छन् । नेपालबाट बैदेशिक रोजगारमा जाने मध्ये ९० प्रतिशत खाडीका मुलुक र मलेसियामा मात्रै जाने गरेका छन् ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय