
अर्जुन काफ्ले, मलेसिया- प्रवासमा वसेर पनि नेपालीहरुले तिहारलाई भिन्न भिन्न किसिमले मनाएका छन् । मलेसियामा रहेका कतिपय नेपालीले सामुहिक रुपमा भाइटिका लगाएका छन भने केहिले प्रवासमा भेटिएका नेपाली चेलीलाई दिदि वहिनी मानेर भाइटिका लगाएका छन् ।
प्रवासमा रहेर घर जान नपाएकाहरुले विभिन्न कम्पनीमा कार्यरत नेपाली चेलीसंग टिका लगाएर यस वर्षको तिहार मनाए । मलेसियाको क्वालालम्पुरमा रहेको मेची महाकाली युवा समुहका युवाहरुले सामुहिक भाइटिका लगाएका छन् । उनीहरुले चेली माइतीको नातालाई तिहारले अझ प्रगाढ वनाउने भन्दै विदेशमै भएपनि यसरी टिका लगाएका हुन ।
सामुहिक टिका लगाए पछि खोटाङ्गका दुर्योधन राईले भने : ८ वर्षपछि पहिलो पटक मलेसियामा यसरी तिहार मनाउँदा घरको जस्तै अनुभव भएको छ । यस अघिका तिहारमा चेली सझेर विताउनु परेको सम्झना गर्दै राईले भने यस वर्षको तिहारले वेग्लै उल्लास ल्याएको वताए । चेली र माइतीको नातालाई विदेशमै भएपनि एक दिन आउने चाडले अझ दह्रो वनाएको उनको भनाई छ । उदयपुरकी नमिता राईलाई पनि यस वर्षको भाइटिका त्यति खल्लो लागेन । उनले पनि सामुहिक रुपमा नै केहि दाजुभाईलाई टिका लगाइदिइन् । एक वर्ष अघि रोजगारीका लागी मलेसिया आइपुगेकी उनले नेपाली दाजु भाइलाई भाइटिका लगाउन पाउँदा खुसी लागेको बताइन् । घरमा हँुदा जस्तो नभएपनि विदेशमा रहेका नेपाली दाजुभाईलाई टिका लगाउदा मनमा केहि न्यास्रोपन हटेको उनले बताइन् ।
भोजपुरका हर्कपाल राईले पनि यस वर्षको भाइटिकाले चेली र माइतीको नाता जोडिएको वताए । ८ वर्ष पछि उनले पनि मलेसियामा नै बनाएकी वहिनीको हातबाट टिका लगाउदा उनी निकै खुसी थिए । मलेसिया आएको ७ वर्षसम्म भाइटिकाको दिन खाली निधार हुने गरेको भए पनि यस वर्ष टिका लगाउन पाउँदा फरक अनुभव भएको उनले बताए । नेपालमा रहेका चेली भनें रित्तै भएको भन्दै उनले दुःखेसो पोखे ।
धादिङ्गका वलराम भट्टले यसपटकको भाइटिका सामुहिक रुपमा लगाए । उनले टिका लगाइसके पछि ५ वर्ष पछि प्रवासमा टिका लगाउदा निकै खुसी लागेको प्रतिक्रिया दिए । नेपालमा रहेका दिदि वहिनीलाई सम्झिए पनि यहाँ अरु वर्षका भाइ टिका सम्झनामा नै विताउनु परेपनि यस वर्षको टिका खुसी साथ मनाएको उनको भनाई छ ।
झापा घर भएकी तारा न्यौपानेका लागि भनें यसबर्षको भाइटिका केहि विशेष रह्यो । उनले मलेसियामा नै रहेका आफ्ना भाइसँगै अरु केहि नेपाली दाजुभाईलाई पनि टिका लगाइदिइन् । यसले आफुलाई धेरै खुसी लागेको उनले बताइन् ।
मलेसियमा रहेका भोजपुरी चलचित्रका निर्माता रञ्जन पौडेलले पनि आफुले मानेकी वहिनीको हातबाट भाइटिका लगाए । सात समुन्द्र पारी रहे पनि मानेकी वहिनीबाट भाइटिका लगाएपछि उनले निक्कै खुसि लागेको वताए ।
तिहारका अवशरमा भाइटिका लगाउन जम्मा भएका दाजुभाईलाई चेलीले सेलरोटी पकाएर खुवाएका थिए । यसैगरी कतिपयले अरु मिठाइ तथा तिहारका अवशरमा बनाइने परिकार समेत बनाएका थिए ।
यसैगरी तिहारका अवशरमा नेपाली जम्मा भएर देउसी भैलो समेत खेलेका छन् । शाहलममा रहेको मोनियार कम्पनीमा कार्यरत नेपालीको अग्रसरतामा नेपालीका होस्टलमा गइ देउसी खेलिएको हो । झापाका प्रविण बुढाथोकीका अनुसार नेपालीहरु मिलेर देउसी भैलो खेलियो ।
पहिला चाहेर पनि देउसी खेल्न गाह्रो हुने गरेको भन्दै बुढाथोकीले हिजोआज नेपालीको संख्या बढेपछि देउसी खेल्न सहज भएको बताए । भारतीय मूलका मलेसियनहरुले दिपावली मनाएपनि देउसी खेल्ने र भाइटिका लगाउने चलन छैन ।
केहिको तिहार भनें मेसिनमा नै वित्यो केहि नेपालीले छुटि लिएरै तिहार मनाए भने केहि नेपालीले नियमित काम गरेरै विताए । तिहार पनि भन्न पाइएन केपुङ्गमा कार्यरत रहेका वेनु ढकालले टेलिफोनमा भने : यस वर्षको भाइटिका पनि मेसिनसंगै वित्यो । दिनभरि काम गरेर वेलुका होस्टल फर्किएका उनले तिहारका दिनपनि छुट्टि नपाउँदा निक्कै दुःख लागेको वताए ।
ढकाल जस्ता धेरै नेपालीले वर्षको एक दिन आउने तिहारको भाइटिकाका दिन छुट्टि नपाउदा खल्लो हुने गरेको बताए । साहित्यकार श्रीजन श्रीलाई पनि यस वर्षको भाइटिकाका दिन निक्कै दुःख लागेको वताए । घरमा भएका दिदि वहिनीलाई फोन गरेर अनी दिनभरी काम गरेर तिहारको भाइटिकाको दिन बितेको उनले बताए । सोगो मार्केटमा कार्यरत संखुवासभाका रोहन समिपको तिहार पनि काममै बित्यो । चाडवाडको दिन समेत काममा जानु पर्दा नरमाइलो लागेको भन्दै उनले परदेशमा हुँदा चाडवाडले पनि खुसी भन्दा धेरै नरमाइलो बोकेर आउने गरेको बताए ।
कलाकार साथ मनाए तिहार आदिवासी जनजाती महासंघ मलेसिया र नेपाल व्यवसायी समाज मलेसियाको संयुक्त आयोजनामा दिपावली साँझ सम्पन्न भएको छ । देउसी भैलो सहित भएको सो कार्यक्रममा नेपाली चलचित्रकी नायिका पुजना प्रधान, हाँस्य कलाकार निरु खडका, लोक गायिका रेस्मी मगर र गायिका मिलन अमात्यले आफ्नो कला प्रस्तुत गरेका थिए । मलेसियाको क्वालालम्पुर आसपासमा रहेका नेपाली भेला भएका सो कार्यक्रमा सहभागीलाई सेलरोटि लगायत नेपाली खाना खुवाइएको थियो । सो कार्यक्रममा मलेसियामै रहेका अन्य कलाकारले पनि आफ्नो कला प्रस्तुत गरे ।