
काठमाडौं—तिहारको समयमा काठमाडौंमा सुन र चाँदीको विक्रि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २ सय किलो चाँदीको कारोबार भएको छ। यो दशैंमा भन्दा धेरै हो । गएको दसैँमा दैनिक १० किलो सुन तथा करिब १ सय किलो चाँदी बिक्री भएको थियो।
लक्ष्मीपूजामा धेरै थोरै सुन वा चाँदी किनेर घरमा सङ्ग्रह गर्नुपर्छ भन्ने मान्यताका कारण पनि तिहारको अवशरमा सुनको व्यापार बढेको हो।
महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य र नेपाली रुपियाँको क्रय शक्ति घटदै गएका कारण सुनको कारोबारमा कमी आएकाले व्यवसायीलाई काम गर्न कठिन भएको बताए।
सामान्य दिनमा अहिले दैनिक पाँच(छ किलो पनि सुन तथा गरगहना बिक्री हुन नसकेको अवस्थामा तीन दिनमा करिब ६० किलो सुनको बिक्रीले व्यवसायीलाई आशा पलाएको छ।
मखनमा काँचो सुन व्यापार गर्दै आएका नेभी श्रेष्ठले ूमानिसहरुले सुन भनेको नगद नै होू भनी सकेको सञ्चय गर्ने र अप्ठेरो परेका समयमा बिक्री गरी व्यावहारिक काम चलाउँदै आएको भए पनि अहिले सुनको मूल्य उच्च रहेकाले लुटपाट तथा असुरक्षाको महसुस गरी आवश्यक परेका समय केही किन्ने गरेको अनुभव सुनाए।
नेपाल राष्ट्र बैंकले विगतमा सुनको आयात अत्यधिक भएकाले व्यापार घाटा बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न दैनिक २० किलो मात्र सुन आयात गर्न अनुमति दिएको थियो। सो सीमाअनुसार बजारको माग धान्न नसकिने भन्दै आएका व्यवसायीले पछिल्लो समय सुन बिक्री नभएपछि सुन उठाउन छाडेका थिए। रासस