![कलाकारका तिहार योजनाः कोहि विदेश कोहि घरमा](https://deshparadesh.com/wp-content/uploads/2020/01/cropped-logo.png)
चितवन, कार्तिक ६ – यो तिहारमा कलाकारको एउटा जमात हङकङमा हुने छ । अवार्ड समारोहहरूका सिलसिलामा कतिपय त्यता रहे पनि कतिपय चाहिँ कन्सर्टमा व्यस्त हुने छन् । केहीले परिवारसँगै बसेर तिहार मनाउन कार्यक्रम क्यान्सिल गरेका छन् । गायिका मिलन अमात्य मंगलबार मलेसिया उडिन् । ‘एउटा भाइ छ, ऊ, कतारमा छ,’ मिलनले काठमाडौं छाड्नुअघि भनिन्, ‘त्यसैले मलेसियामा रहनुभएका नेपाली दाजुभाइसँग यो पटकको तिहार मनाउने छु ।’ मिलन बाल्यकालमा देउसीभैलो खेल्थिन् । देउसी खेल्दा पाएको पैसाले साथीभाइ मिलेर वनभोज जान्थे । ‘अहिले त देउसीभैलो नखेलेको धेरै भयो,’ उनले सुनाइन्, ‘बाल्यकालमा खेल्दाको देउसीभैलोको सम्झना भने आइरहन्छ ।’ गायक प्रमोद खरेलले भने आफ्नै घरमा तिहार मनाउँदै छन् । तिहार उनलाई मन पर्ने चाड हो । तर बैनी अस्ट्रेलियामा भएकाले खल्लो भइरहेको छ उनलाई । ‘तिहारको झिलिमिली बढी मन पर्छ मलाई,’ उनले भने, ‘त्यसैले घरपरिवार र साथीहरूसँग तिहार मनाउने तयारीमा छु ।’ उनले तिहारका लागि घरमा झिलिमिली बनाइसकेको बताए । उता, अभिनेत्री दीपाश्री निरौला इन्फा अवार्डमा सहभागिता जनाउन लागि कात्तिक ८ गते भाइटीकाको दिन हङकङ जाने तयारीमा छिन् । तीतो सत्य युनिटले निर्माण गर्न लागेको ‘वडा नम्बर ६’ को लोकेसन हेर्न व्यस्त उनले भनिन्, ‘ठूलो भाइलाई स्काइपबाट टीका लगाइदिन्छु, सानो भाइलाई दिदी र बैनीहरूले लगाइदिन्छन् ।’ दीपाश्री पाँच दिदीबैनीमध्ये साहिली हुन् । अभिनेता गजित विष्ट दसैंमा विराटनगरमा रहे पनि तिहार काठमाडौंमै मनाउने तयारीमा छन् । उनी दुई भाइमध्ये जेठा हुन् । एउटी बैनी छिन् । उनले टीका लगाइदिनेछिन् । ‘तास कहिल्यै खेलिएन,’ उनले भने, ‘त्यही भएर परिवारसँगै बसेर रमाइलो गरिन्छ ।’ छोरा सौगातले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ को प्रदर्शनबारेमा समेत परिवारमाझ छलफल चलाउने सुरमा छन् उनी ।
गीतकार एकनारायण भण्डारीको तिहार राजधानीमै बित्नेछ । तीन दाजुभाइमध्येका जेठा उनीहरूकी एउटी बैनी छन् । ‘अघिल्लो साल बैनीको घरमा जुठो थियो, टीका लगाउन पाइएन,’ उनले भने, ‘यो पटक त्यस्तो समस्या छैन, लगाइन्छ ।’ उनले चाडपर्वमा देउसीभैलोका गीत लेख्ने गरे पनि नखेल्ने गरेको बताए । उता लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने भने तिहारमा नयाँ व्यवसाय सुरु गर्ने तयारीमा छन् । ‘अरूको दोहोरी साँझमा गीत गाएर धेरै हिँडियो,’ उनले भने, ‘ अब आफैंले दाहोरीसाँझ सुरु गर्न लागेको छु ।’ उनले पोखराको बिरौटामा रिमझिम दोहोरीसाँझ सुरु गर्न लागेका उनले थपे, ‘टीका लगाउन बुटवलको खैरहनीमा दिदीको घर जाने सोच बनाएको छु ।’ यो खवर हामीले कान्तिपुरबाट लिएका हौं