अर्जुन दाहाल, दुबई । दुबईको अलनाहदास्थित एनएमसी अस्पतालमा एक नेपालीको अचेत अवस्थामा उपाचार भईरहेको छ ।
मोरंगको पथरीसनिश्चरे नगरपालिका १ निवासी मनकुमार बिक गत अगस्त २८ तारेखका दिन दुबईमलमा काम गर्दा गर्दै लडेका थिए । उनलाई अहिले आइसियुमा राखेर उपचार गरिंदैछ । उनको खानापिना सबै पाइपबाट भइरहेको एनएमसी अस्पतालका डाक्टर प्रशान्तले बताएका छन् ।
डाक्टर प्रशान्तका अनुसार कोमामा रहेका २९ वर्षिय बिकको पहिलेको भन्दा स्वास्थ्य स्थितीमा धेरै सुधार आएको छ । पहिले उनलाई भेन्टिलेटर प्रयोग गरिएको थियो भने अहिले भेन्टिलेटर हटाइएको छ । विरामीले बेलाबेलामा आँखा हेर्न, औला दिए हातले समाउन थालेका कारण उनको स्थीतिमा सुधार भएको डाक्टरले बताएका छन् ।
कोमामा रहेका बिमारी बिक रासअल खेमामा रहेको फ्युजन इन्टेरियर डिजाइन कम्पनीमा २०५९ सालदेखि इलेक्ट्रिशियनको रुपमा काम गरिरहेका थिए ।
बिरामी मनकुमार बिकका भाई बाबु बिकका अनुसार कम्पनीले उनको उपाचार गर्न लापरबाही गरेको थियो । घट्ना भएको करिब तीन घण्टापछि मात्र अस्पतालमा लगिएको थियोे । कम्पनीको मालिकले उनलाई उपाचारको खर्च बढी भएको भन्दै अहिले उपचार गर्न नसक्ने बताउँदै आएका छन् ।
साथै कम्पनीका मालिकले उपाचारकोलागि उनलाई रेडक्रसजस्ता संस्थालाई गुहार गर्न बारम्बार दबाब दिएको छ । करिब १३ वर्षसम्म उक्त कम्पनीमा काम गरेको दाजुको यो अवस्थाको जिम्मेवारी कम्पनी भएकोले आफुले कतै दयाको भिख नमाग्ने बाबु बताउँछन् ।
यूएईकालागि नेपाली राजदूत धनन्जय झाले कानुनी रूपमा कम्पनीले नै उसको उपचारको खर्च बेहोर्नु पर्ने र सोको लागि दूतावासले आवश्यकता परे कम्पनीलाई पत्र लेख्ने तथा त्यो पनि नभएमा यूएई सरकारलाई नै पत्र लेखी उसको उपचारमा सहयोग गर्ने बताएका छन् ।
http://thenepalivoice.com बाट