रौतहट, कार्तिक १- आयोजक रौतहट र काठमाडौं चन्द्रपुर नगरपालिकामा जारी बियाग कप यु १७ बालिका फुटवलको उपाधिका लागि भिड्ने भएका छन् ।
सेमिफाइनलमा ताप्लेजुङलाई हराएको रौतहट र झापालाई हराएको काठमाडौंले आइतवार अपरान्ह वियाग कपको पहिलो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्लान इन्टरनेशनल नेपाल र अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल स्थानीय मैदानमा अपरान्ह साढे दुई बजे हुनेछ ।
प्रशिक्षक शेरवहादुर दर्लामीको नियमित प्रशिक्षणमा रहेको रौतहटको बालिका टीमले शनिवार पहिलो सेमिफाइनलमा ताप्लेजुङलाई ४–० ले हराउंदा अघिल्ला म्याचमा जस्तै उसका फरवार्ड लाइनका खेलाडी हावी भए । रोजिना मालीले १२ औं मिनेटमा फ्रिकिकमा दर्शनीय गोल गर्दै घरेलु टीमलाई अग्रता दिलाएकी थिइन् । २७ औं मिनेटमा अलिसा जिम्बाले डिबक्सभित्र साइडबाट आएको बललाई वान टचमा गोलमा परिणत गरेपछि रौतहटको अग्रता दोब्बर बनेको थियो । अघिल्ला खेलको तुलनामा ताप्लेजुङ रौतहटविरुद्ध फिक्का देखियो ।
मध्यपंक्ति र फरवार्ड लाइनवीच तालमेल मिलाउन नसक्दा उसले पहिलो हाफमा सेन्टरबाट विपक्षीतर्फ आकर्षक मूभ समेत बनाउन सकेन । दोस्रो हाफको दोस्रो मिनेटमा रौतहटले पेनाल्टीमार्फत् गोल थपेपछि खेल एकतर्फी बन्न पुग्यो । ताप्लेजुङकी कप्तान अनिसा थेवेको ह्यान्ड भएवापत् पाएको पेनाल्टी अवसरलाई रौतहटकी कप्तान सुनिता योञ्जनले गोलमा परिणत गरिन् । तीन गोलको अग्रतापछि हौसिएको रौतहटले घरेलु समर्थकमाझ आफ्नो प्राविधिक खेललाई निरन्तरता दियो ।
रौतहटकी विंगर निर्मला केसीको प्रभावशाली प्रदर्शन दर्शकको नजरमा परिरह्यो । छरितो र प्राविधिक रुपमा प्रतिभाशाली देखिएकी निर्मलाले ४२ औं मिनेटमा दिएको क्रसमा मनिषा रावतले गोलको दिशा दिएपछि रौतहट हावी हुन पुगेको थियो ।
दोस्रो सेमिफाइनलमा काठमाडौं र झापावीच प्रतिस्पर्धा रोचक बन्यो । काठमाडौंले २–१ ले बाजी मारेको खेलमा दुवै टोलीले आकर्षक मूभ बनाएका थिए । पहिलो हाफको ११ औं मिनेटमा प्रतिमा उप्रेतीको प्रहार झापाकी किपरबाट बाउन्स भएर फर्किएको बलमा लक्ष्मी तामाङ एले विपक्षी डिफेन्स नभएको मौकामा सहजै गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा झापाकी सम्झना लावतीले गोल गरेपछि खेल एक एक गोलको बराबरीमा रह्यो । रञ्जना चौधरीको कर्नर प्रहारमा विपक्षी रक्षापंक्ति असरल्ल हुंदा उनले गोल गरेकी थिइन् । त्यसअघि २३ औं मिनेटमा अनिता श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्किदा काठमाडौंको अग्रता दोब्बर हुन सकेन ।
दोस्रो हाफको तेस्रो मिनेटमा लक्ष्मी तामाङ बीले डिबक्सभित्रबाट सटिक प्रहारमा गोल परिणत गर्दा झापाकी किपरले कुनै मौका पाइन् । झापाले दोस्रो हाफको अन्तिम तिर विपक्षी तर्फ थुप्रै मूभ बुन्यो । दीक्षा चौधरी र रञ्जना चौधरीले फरवार्ड लाइनमा राम्रै खेलेपनि फिनिसिङमा कमजोर देखिए ।
तेश्रो अन्तराष्टिय बालिका दिवसको सन्दर्भ पारेर आयोजना गरिएको बियाग(बिकज आइएम अ गर्ल) प्रतियोगितामा १२ टीम सहभागि थिए । प्रतियोगिताको विजयीले एक लाख नगद पुरस्कार राशी सहित कप पाउने छन् । यसैगरी उपविजेताले ५० हजार नगद सहित शिल्ड पाउनेछन् । उत्कृष्ट फरवार्ड, मिडफिल्डर, गोलकिप्पर, डिफेन्स तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार नगद सहित पुरस्कार पाउनेछन् ।