इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकले भने– ‘दुई महिना यौनसम्पर्क नराख’

काठमाडौं, असोज ३०– इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकहरुले दुई महिनासम्म यौनसम्पर्क नराख्न आग्रह गरेका छन् । लाइबेरियाबाट सशस्त्र प्रहरीको एक सय ३१ जनाको टोली बुधबार नेपाल फर्किएपछि उनीहरुको यस्तो सुझाव आएको हो । आजको नयाँ पत्रिका दैनिकमा छापिएको खबरमा भनिएको छ– ‘इबोलाको इन्कुबेसन पिरियड दुईदेखि २१ दिन हो । रगत तथा र्‍यालका माध्यमबाट शरीरमा भाइरस छिरेको भए सोही अवधिमा लक्षण देखाउँछ । तर, शुक्रकिट यस्तो पदार्थ हो जसको भाइरस ५७ दिनसम्म विनालक्षण रहन सक्छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला फोकल पर्सन डा वासुदेव पाण्डेले भने । इबोला संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखे शुक्रकिटको माध्यमबाट भाइरस सर्ने र झन्डै दुई महिनासम्म विनालक्षण रहन सक्ने उनले बताए । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग बिशेषज्ञ डा.शेरबहादुर पुनले पनि इबोलाग्रस्त मुलुकबाट फर्कनेलाई केही समय सुरक्षात्मक उपाय अपनाउन सुझाब दिएका छन् । ‘पश्चिम अफ्रिकी मुलुक लाईबेरिया, सेरालियोन, गिनी, नाईजेरीयालगायतका मुलुकमा नेपाली सेना र प्रहरीमात्र हैन साधारण नागरिक पनि गएका रहेछन् । तिनीहरु धमाधम फर्केका छन् । सेना–प्रहरीको स्वास्थ्य परिक्षण पनी हुने गरेको छ । तर, सिभिलियनहरु भने सिधै घरमा पुगेका छन् । त्यस्ता व्यक्तिले अझ सुरक्षा अपनाउनुपर्छ,’ डा.पुनले भने । यसैगरी आजको कान्तिपुर दैनिकका अनुसार इबोला प्रभावित मुलुक लाइबेरियाबाट ६ महिने मिसन पूरा गरी राजधानी र्फकन लागेका सुरक्षाकर्मीलाई तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने भएको छ । बिहीबार एक सय ३१ र यसै साता थप पाँच सय सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कदैं छन् । सशस्त्र प्रवक्ता सिंहबहादुर श्रेष्ठले लाइबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले इबोला संक्रमणको खतरा नभएको बताए । ‘तैपनि सुरक्षा सतर्कताका लागि उनीहरूलाई विमानस्थलबाट सोझै ककनीस्थित तालिमकेन्द्रमा लगिनेछ,’ उनले भने, ‘संक्रमणको शंका नहटेसम्म त्यहीं राखिनेछ ।’ सशस्त्र प्रहरी बल अस्पताल सतुंगलका डा.रूपक महर्जनसहितको टोलीले रोग प्रभावित मुलुकबाट फर्किएकाहरूलाई निगरानी गर्नेछन् । उनीहरूका लागि छुट्टै भान्सा, भाँडाकुँडा, बाथरुम र बस्ने व्यवस्था गरिएको छ । जाँचका लागि स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय भइरहेको छ । एआईजी श्रेष्ठका अनुसार मिसनबाट फर्किएकाहरूलाई विमानस्थलमा आफन्तसँग समेत भेट गर्न दिइने छैन । उनीहरूको स्वास्थ्य जाँच गर्ने टोलीलाई समेत संक्रमणबाट जोगाउन सतर्कता अपनाइएको छ । ‘फोन वा अरू कुनै माध्यमबाट मात्र सम्पर्क गराउने हो,’ श्रेष्ठले भने, ‘अरू कसैको सम्पर्कमा आउन दिइने छैन ।’ बिरामी पाइहालेमा ‘आइसोलेसन वार्ड’को समेत व्यवस्था मिलाइएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी भन्छन्, ‘न्यूनतम तीन सातासम्म कडा निगरानीमा राख्नैपर्ने हुन्छ । यसबीच कसैसँग हातसमेत मिलाउनु हुँदैन ।’ ‘एक जनाले संक्रमण बोकेर फर्कियो भने संगठनका ठूलो संख्या प्रभावित हुने सम्भावना हुन्छ,’ डा.मरासिनीले भने, ‘सैनिक र सशस्त्र प्रहरी ब्यारेकमा ठूलो संख्यामा बस्ने हुँदा परिवारमा बस्नेको दाँजोमा संक्रमण तीव्र गतिमा फैलिने डर हुन्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय