
काठमाडौं, असोज २९– विद्युत प्राधिकरणका विभिन्न तहका करिव १ हजार ७ सय पदका लागि १ लाख भन्दा बढीको आवेदन परेको छ । प्राधिकरणले दोब्बर दस्तुर तिरेर आवेदन बुझने काम जारी रहेको जनाएको छ । प्राधिकरणले भदौं २२ मा ३ देखि १० तहसम्मका १ हजार ६ सय ८९ पदपूर्तिका लागि विज्ञापन प्रकाशन गरेको थियो । आवेदन दिने नियमित अवधि गत शुक्रबार सकिएको छ । त्यस अवधिसम्म १ लाख ५ सय ३४ आवेदन परेको प्राधिकरण प्रशासन निर्देशनालयले जनाएको छ । प्राधिकरणले ८ वटा क्षेत्रीय कार्यालयबाट आवेदन संकलन गरेको थियो । निर्देशनालयका अनुसार सबैभन्दा बढी आवेदन काठमाडौं क्षेत्रीय कार्यालय र सबैभन्दा कम आवेदन पोखरा क्षेत्रीय कार्यालयमा परेको छ । काठमाडौंमा २७ हजार ३ सय ५४ आवेदन र पोखरामा ५ हजार ५ सय २५ आवेदन परेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।