दुई महिला जलेर सख्त

नेपालगञ्ज, २८ असोज– बाँके इन्द्रपुर–९ की पूजादेवी नाउ र खासकारकाँदो–२ स्थित भुजईगाउँकी हेमकुमारी धोबी आइतबार साँझ आफ्नै घरमा जलेका छन् ।

पूजाका परिवारले सुतेर बच्चालाई दूध खुवाउँदा टुकी पल्टेर आगो लागेको बताएका छन भने हेमकुमारीका पति गयाप्रसादले मट्टितेल सम्झेर भान्सामा तारपिनको तेल बाल्दा आगो सल्केको जनाएका छन् । प्रहरी उपरीक्षक शेखर कोइरालाले घटनास्थलको वस्तुस्थिति शंकास्पद देखिएकाले पूजाका पति पवन, उनका दाइ रमेश र राज तथा हेमकुमारीका पति गयाप्रसादलाई पक्राउ गरी सोधपुछ थालिएको बताए ।

इन्द्रपुर र भुजईगाउँका दुवै घटनास्थल भेरी अञ्चल अस्पतालदेखि पाँचरछ किमिको दूरीमा छन् । तर साँझ साढे आठ बजेतिर भएका घटनाका गम्भीर घाइतेलाई परिवारले बिहान पौने ४ बजे मात्र अस्पताल पुर्‍याएको थियो ।

१९ वर्षीया पूजाको शरीरको झन्डै ४५ प्रतिशत भाग जलेको छ । सँगै सुतेका दुई वर्षका छोरालाई केही नभएको पाइएपछि पत्नीलाई अस्पतालमा छाडेर हिँडेका पवनलाई प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा बुहारी भेट्न पुगेका ससुरा गोमती नाउले भने, ‘छोराबुहारी दुवै कोठाभित्रै थिए । एक्कासि हल्लाखल्ला मच्चियो । कोठा खोल्दा बुहारी आगोले जलेकी थिइन् ।’ छोराबुहारीबीच पटक–पटक झगडा हुने गरेको उनले बताए ।

त्यस्तै, २५ वर्षीया हेमकुमारीको शरीरका ९० प्रतिशत भाग जलेकाले अवस्था अत्यन्त चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । उनका बुवा रंगीलाल धोबीले ज्वाइँ गयाप्रसादले जलाएको आरोप लगाए । साढे दुई वर्षअघि गर्भवती अवस्थामा शरीरभर नीलडाम हुने गरी कुटपिट गरेर माइती पठाएको उल्लेख गर्दै उनले भने, ‘मैले छोडपत्र गराउन माइती ल्याएर राखें । अब कहिल्यै दुःख दिन्न भनेर लगेका थिए ।’

हेमकुमारीका तीन सन्तान छन् । छोरी भर्खर दुई महिनाकी छन् । प्रहरीले उनी भान्सामा नभई आँगनमा जलेको पाइएकाले पतिप्रति शंका भएको जनाएको छ । पूजा र हेमकुमारी दुवैलाई सोमबार एम्बुलेन्सबाट काठमाडौं लगिएको छ । पूजा हल्का हिँड्न र बस्न सक्ने भए पनि हेमकुमारी हलचल गर्न सक्दिनन् । उनको मुखबाहेक सबै अंग जलेको छ । उनका बुवा रंगीलाल दुवै घाइतेलाई लिएर काठमाडौंतर्फ लागेका हुन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय