रहेनन् ‘जनकवि केशरी’ धर्मराज थापा

काठमाडौं, २८ असोज– नेपाली साहित्‍यका धरोहर ‘जनकवि केशरी’ धर्मराज थापाको असामयिक निधन भएको छ। राजधानीमा उपचार गराईरहेका ९२ वर्षीय कवि केशरीको स्वयम्भुस्थित निवासमा विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ। उनी उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षघात लगायतका रोगबाट ग्रसित भएका थिए। उनी गतवर्ष वीर अस्पतालको आइसियुमा लामो समय रहेर उपचार गराएपछि घर फर्किएका थिए। को हुन् जनकवि केशरी ? जनकवि केशरी धर्मराज थापा वि.सं. १९८१ सालमा पोखराको बाटुलेचौरमा जन्मिएका हुन्। थापाले नेपाली साहित्‍यको भण्‍डारमा अतुलनीय योगदान दिएर अजर अमर बनाइदिएका छन्। उनका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन्। उनले वि.सं. २००७ सालमा (प्रजातन्त्रको मिर्मिरे) कृति प्रकाशनमा ल्‍याएका थिए। उनले लेखेको ‘हरियोडाँडा माथि हलो जोत्‍ने साथी’ बोलको गीत आम नेपालीको मनमुटु बस्‍न सफल मानिन्‍छ। यसका साथै ‘प्रजातन्त्रको काफल, पाक्यो बरी लै, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झि रोएको होला, डाँडाकाटी गएको नेपाली लगायतका कालजयी गीतहरु अजर र अमर बनेर बसेका छन्। वि.सं. २०१३ सालमा तत्‍कालिन राजा महेन्द्र वीरविक्रम शाहबाट जनकवि केशरीको उपाधि पाएका उनले नेपाली साहित्‍य आकाशमा अवछिन्‍न रुपमा चिपरिचित हुँदै आइरहे। हुन त उनले आफ्‍नो जीवनको दौडानमा प्रजातन्त्रका निम्ति कहिले हडताल गरे त कहिले र विद्रोह। कर्मचारीलाइ उक्साएर हड्ताल गरेको आरोपमा उनलाई वि‍.सं. २००८ सालमा गोर्खापत्रको मुखिया पदबाट हटाइएको थियो र उनलाई करीब एक महिना जेल जीवन बिताउनु परेको थियो।। जेल जीवनपछि उनी छिमेकी मुलुक भारतमा गई बसेका थिए। उनी प्रवासमा रहँदा समेत नेपाली मौलिक कला र गलालाई भारतका दार्जिलिङ, देहरादुन, भाक्सु, आसाम, सिक्‍किम लगायतका थुप्रै ठाउँमा गुञ्‍जयमान बनाएका थिए। उनी त्‍यही व्‍यक्ति हुन जसले आज गान्धर्व र सारङ्गीलाई संसारमा सबैमाझ चिनाएका थिए। नेपाली साहित्‍यमा योगदान गरेवापत जनकवि केशरीले वि.सं २०२५ सालमा साहित्‍यतर्फ (मालती मङगले कवितासंग्रह)को मदन पुरस्कार पाएका थिए। यसका साथै वि.सं. २०५७ सालमा मदन पुरस्कार गुठीले कवि थापालाई जगदम्बा श्री पुरस्‍कार प्रदान गरेको थियो।

याे खबर अन्नपुर्ण पाेष्ट अनलाईनबाट लिईएकाे हाे ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय