
तनहुँ, २८ असोज– घिरिङ ६ हरिसिंहडाँडाका २७ वर्षीय सोमबहादुर थापाले आईतबार दिनभर लाईनमा बस्दा पनि राहदानीका लागी जिल्ला प्रशासनबाट सिफारिस पाएनन् । भोलिपल्ट बिहान ३ बजेदेखिनैं उनी पुनः लाईनमा बसिसकेका थिए । अघिल्लो दिन सिफारिस नपाई फर्किएका करिब एक सय जनामध्ये सोमबार बिहान ७ बजेसम्ममा ५० जना लाईनमा बसिसकेका थिए । ‘राहदानीको सिफरिस लिन आउनेहरुको चापले राति होटलमा समेतकोठा नपाएर हामी केही युवा छतमा सुत्यौं,’ थापाले भने, ‘एक निद्रा सुतेपछि निन्द्रा नै परेन र ३ बसे उठेर लाईनमा बस्न आयौं ।’ विहान ३ बजे लाईनमा आएको करिब आधा घण्टापछि अन्य होटलमा बसेका साथीहरुसमेत लाईन बस्न भन्दै आएको उनले जानकारी दिए । विहान ७ बजेदेखि लाईनमा बसेका वन्दिपुर ८ बाक्सेकाका २७ वर्षीय अर्का युवा राजन आलेले राहदानीको सिफारिस लिएर सोमबार काठमाडौं पुग्ने योजना भएपनि सेवाग्राहीको भीड बढेकाले एक रात होटलमा बिताउनु परेको बताए । उनले आफूसहित अन्य युवाहरु बन्दिपुरका नरबहादुर थापा, तनहुँसुरका सुर्य गिरी, केशवटारका राजन आले, काँहुशिवपुरका नायारणबंशी ठकुरी लगायतका अन्य साथीहरु भएर विहान ७ बजेदेखि लाईनमा बसेको बताए । ‘राहदानी बनाउनेहरुको यस्तो चाप होला भन्ने ठानेको थिईन,’ आलेले भने, ‘काठमाडौंमा पनि यस्तो भिड हुँदैन रे भन्ने सुनेको छु ।’ राहदानीमात्र होईन नागरिकता फाँटमा पनि आईतबारदेखि सेवाग्राहीको चाप बढेको राहदानी फाँटका कर्मचारी रमेशलाल श्रेष्ठले बताए । सेवाग्राहीको चाप बढेपछि चार जना कर्मचारी भएर दुईवटा झ्यालबाट सेवा दिएको उनले बताए । सेवाग्राहीको चाप बढेपछि प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्ला विकास समिति, वन कार्यालय, वालकल्याण समितिबाट कर्मचारी झिकाएर काममा खटाएका थिए । प्रशासन कार्यायलका सवारी चालकहरु सुकदेव रेग्मी र सुर्य श्रेष्ठ समेत र कार्यालय सहयोगीहरुले समेतले काममा सघाएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।