झापा र सर्लाही बराबरीमा, काठमाडौंको जित

रौतहट, २७ असोज– रौतहटको चन्द्रपुर नगरपालिकामा जारी वियाग कप यु—१७ फुटवलमा आइतवार काठमाडौंले जित हात पार्दा झापा र सर्लाहीले भने बराबरी खेलेका छन् ।

आइतवारको पहिलो खेलमा झापाले दुई पटकको अग्रतालाई जोगाउन नसक्दा अंक बांड्न बाध्य भयो । दीक्षा चौधरीको गोलबाट २५ औं मिनेटमा अग्रता लिएको झापाले ६ मिनेटपछि गोल खायो । सर्लाहीकी संगीता घिसिङले डिबक्सभित्र पाएको पासमा सहजै गोलमा परिणत गरिन् । त्यतिवेला झापाको डिफेन्स लाइनले डिबक्सभित्र बल खेलाउने भूल गरेको थियो भने गोलरक्षक पनि सम्हालिन सकिनन् ।

बराबरीपछि खेलमा फर्किएको सर्लाहीले बलमा नियन्त्रण जमाउन सकेन भने झापाले दवाव दिन सकेन । ३२ औं मिनेटमा झापाकी रञ्जना चौधरीले डिबक्स बाहिरबाट भली प्रहारमा आकर्षक गोल गरेपछि झापाले २—१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मेनुका आलेले सर्लाहीका लागि गोल थपेपछि बराबरीको नतिजामा खेल पुगेको हो । त्यसअघि पहिलो हाफको १२ औं मिनेटमा सर्लाहीकी संगीता घिसिङ्ले पेनाल्टीमा गोल गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो । झापा र सर्लाहीले एक एक अंक बांडेकाले समूह सीको अर्को टोली कैलालीसंग दुवै टीमको नतिजापछि मात्र सो समूहबाट सेमिफाइनल पुग्ने टीमको टुंगो लाग्नेछ ।

आइतवारको दोस्रो खेलमा समूह डीको काठमाडौंले बारालाई एकतर्फी खेलमा २—० ले पराजित गर्दै तीन अंक जोडेको छ । तुलनात्मक रुपमा फुटवल कौशलमा राम्रो देखिएको काठमाडौंसामु बाराका खेलाडीले छरितो खेल सकेनन् । १० औं मिनेटमा फरवार्ड लक्ष्मी तामाङ् बीले वान भर्सेस वानको स्थितिमा डिबक्स नजिकैबाट भलीमा सहज गोल गरिन् । सोही गोलबाट अग्रता लिएको काठमाडौंले बल नियन्त्रणलाई महत्व दियो ।

२५ औं मिनेटमा लक्ष्मीले नै अर्को गोल गरेपछि काठमाडौंले अग्रता दोब्बर बनायो । मध्यपंक्तिबाट मिलेको पासमा दुई विपक्षी डिफेन्डरलाई विट गर्दै उनले वान टचमा गोल गरेकी थिइन् । पहिलो हाफको अग्रताले काठमाडौंको जित सुनिश्चित गर्यो ।

दोस्रो हाफमा भने दुवै टीम मध्यमपंक्तिमा रुमलिएको थियो । बाराले सटिक पास खेलेपनि उसको टीममा फरवार्ड लाइन प्रभावशाली देखिएन । प्रतियोगितामा सोमवार पहिलो खेलमा मोरङ र बांके तथा दोस्रोमा ताप्लेजुङ र कञ्चनपुरवीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो अन्तराष्टिय बालिका दिवसको अवसरमा अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगितामा १२ जिल्लाका टिम सहभागी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय