
काठमाडौं, २७ असोज– भारत सरकारले आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ । १८ दिनअघि अर्थात् २४ सेप्टेम्बर २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्रमन्त्रालय मार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन । तर अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ ।
सूचनामा अत्यन्तै सुरक्षा खतरा रहेका नेता को को हुन् भन्ने उल्लेख नगरी ‘‘प्रोमिनेन्ट नेपाली पोलिटिसिययन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।
सुचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुनसक्ने कुरा समेत उल्लेख भएर आएकाले थप सुरक्षा संवेदनशीलता बढाईएको सुरक्षा स्रोतले बतायो । सुचनामा इण्डीयन मुजाहिद्दिन र अलकायदाका सदस्यले काठमाण्डौ विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाईरहेको उल्लेख छ ।
परराष्ट्र स्रोतले भन्यो ‘नेपालमा ठुला नेता र भारतीय दुतावासका अधिकृतहरुलाई अपहरण गर्ने योजना सहतिको खतरनाक गिरोह सक्रिय रहेको बारे लिखित र मौखिक जानकारी आएको छ र यसबारे प्रहरी तथा सुरक्षा निकायलाई पनि जानकारी गराईसकिएको छ’ स्रोतले दुतावासबाट आएको पत्र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई समेत बोधार्थ दिईएको बतायो ।
यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।