आमिरसँग स्वयंसेविकाले मागे साइकल र झुल

कपिलवस्तु, असोज २३ – जिल्लाको पकडी-३ की स्वयंसेविका चम्पा केवटलाई बलिउड स्टार आमिर खानले बुधबार सोधे, ‘काम गर्न कत्तिको गार्‍हो छ ?’ सधैं पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी । एकैछिनपछि सम्हालिएर उत्तर दिइन्, ‘एउटा साइकल भइदिए अझ गतिलो गरी काम गर्न सक्ने थिएँ ।’ उनले आमिरसित गाउँका महिलालाई घरघरमा पुगेर सघाउन पाउँदाको खुसी साट्दै साइकल माग गरेकी हुन् । १७ वर्षदेखि गाविसमा स्वयंसेविका रूपमा काम गरिरहेको सुनाउँदै उनले माग पूरा गरिदिन आग्रहै गरिन् । उनीजस्तै १८ वर्षदेखि स्वयंसेविका रहेकी अजोरमति रैदासलाई आमिरले ‘अब के भयो भने राम्रो हुन्छ ?’ भनी सोधे । उनले सबै महिला स्वयंसेविकालाई झुल दिन सकियो भने राहत पुग्ने बताइन् । लामखुट्टेबाट रोगब्याधि फैलिने हुँदा पहिले आफ्नो सुरक्षाका लागि झुल मागेको उनको भनाइ थियो । ‘यसले अरूलाई पनि स्वस्थ रहन सन्देश दिन सकिन्छ,’ उनले आग्रह गरिन्, ‘त्यसैले पहल गरिदिनुपर्‍यो ।’ युनिसेफद्वारा पकडीमा सञ्चालित पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन आएका अभिनेतासँग महिला स्वयंसेविकाले खुलेर कुरा गरे । उनीहरूले नअक्मकाइकन समस्या राखे । कार्यक्रममा जिल्लामा कुपोषणको अवस्था र त्यसका लागि गरिएका प्रयासबारे आमिरलाई जानकारी दिइएको थियो । आमिरले सुरुमा अंग्रेजीमा कुरा सुरु गर्न खोजे । निरक्षर स्वयंसेविकाहरू खासखुस गर्न थालेपछि हिन्दीमा बोले । करिब आधा घन्टाभित्र कार्यक्रममा चलिरहँदा बाहिर भने फ्यान भरिइसकेका थिए । बिस्तारै खुट्टा टेक्ने ठाउँ रहेन । हलबाट बाहिर निस्कनासाथ फ्यानले हात हल्लाएर जोडदार ताली बजाई स्वागत गरेका थिए । उनीसँग फ्यानले भेट्ने र कुरा गर्ने इच्छा राखे । नजिक पुग्न भने पाएनन् । सुरक्षाकर्मी तैनाथ गरेर सतर्कता अपनाइएकाले फ्यानले टाढाबाटै हेरेर चित्त बुझाउनुपर्‍यो । कार्यक्रमपछि अभिनेता पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाले कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गर्न पुगेका थिए । त्यहाँ उनलाई महिला स्वयंसेविका राधा यादवले आफूहरूले कुपोषित/सुपोषित बालबालिका छुट्याउने विधि तथा उपचार गर्ने तरिकाबारे जानकारी गराएकी थिइन् । उनले गाउँका १६ महिने कुपोषित बालक सन्दन यादवलाई तयार पारिएको उपचारात्मक खाना खुवाउन पनि भ्याए । दुवै ठाउँमा स-साना बालबालिका उचालेर काखमा लिने प्रयास गरे । बालबालिका रोएपछि भुईंमा राखेर खेलाए । आफ्ना पनि लालाबाला भएकाले बालबालिकालाई मनपराउने उनले बताए । बालबालिकालाई सानामा धेरै माया र स्याहार चाहिने हुँदा त्यसअनुसार व्यवहार गर्नुपर्ने उनको सुझाव थियो । ‘यसले बालबालिका निरोगी र प्रतिभावान् हुन सहयोग पुर्‍याउँछ,’ बालबालिकामाथि नै ‘तारे जमिन पर’ फिल्म बनाएका युनिसेफ दूत आमिरले भने । यती एयरको जहाज चार्टर्ड गरी बिहान १० बजे आएका उनी मध्याह्न फर्किएका थिए । ६ निजी सुरक्षाकर्मीसहित युनिसेफको २७ सदस्यीय टोली कपिलवस्तु आइपुगेको थियो । टोलीमा युनिसेफ दक्षिण एसियाका निर्देशक करिन हल्सहोफ र नेपाल प्रमुख टोमो होजुन पनि थिए । ४९ वषर्ीय खान आउने भएपछि छिमेकी जिल्ला रूपन्देही र अर्घाखाँचीबाट समेत फ्यान आएका थिए । सीमावर्ती भारतीय बजारका सर्वसाधारण पनि झुम्मिएका थिए ।  यो समाचार र तस्विर कान्तिपुर दैनिक र ईकान्तिपुर डट कमबाट साभार गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय