कतारबाट फर्केर नेपालमै महिनामा तीन लाख कमाई

तारा शर्मा , झापा, १३ कार्तिक- कमाई सामान्य थियो । भिडन्तमा परेर बाबुआमाको मुटुमा किला ठोकिएला भन्ने चिन्ताका अघिल्तिर अपमान साथ मरभूमीमा मजदुरी गर्नु धेरै सजिलो भयो निरजका लागि । बेला बेला ठोक्किन आइपुग्ने नेपालको हिंसाको खवरले उनलाई कालको मुखबाट फुत्किएको महसुस पनि हुन्थ्यो । तर विदेशको काम कम गाह्रो थिएन । “यहाँ बलको काम नगरेको मान्छे, त्यहाँ त चर्काे घाममा घोटिएर काम गरियो नी” निरज खाडीको कष्ट सम्झिन्छन् ।

तर तन कतारमा भएपनि मन नेपालमै थियो । त्यहाँको गेग्रयान देख्दा आफ्नो गाउँको कालो मलिलो माटोको सम्झना आउँथ्यो । कतारमा पानीको थोपा थोपाको महत्व देख्दा आफ्नोे गाउँमा कलकल गर्दै बग्ने खोलाखोल्साको सम्झना आउँथ्यो । अनी मरभूमिमा गरेको खेती देख्दा आफ्नो पाखोबारीको महत्व बुझे २८ बर्षे निरज बोगटीले । जहाजमा आयात गरिएको घाँसका भरमा अरबको तातो मरुभूमीमा गाई पालिएको फारम देखेपछि बल्ल उनको दिमागको ढक्कन खुल्यो ।

खाडीको मजदुरीबाट फर्किएपछि ज्यानमा नयाँ जोश थपियो । गाउँकै दाजुको उमेरका रबी नेपालसँग कुराकानी गरेपछि दुवैको मतो मिल्यो गाई पाल्न । दुवैको गरेर पाँच बिगाहा जग्गा छँदैथियो । जोरजाम गरेर भारतको हरियाणाबाट उन्नत जातका गाई पनि ल्याइयो । दुईचारवटा गर्दै थप्दै अहिले ५० माऊ गाई पुगिसकेका छन् निरज र रबीको अभियान कृषि फारममा । २५ वटा त बाच्छाबाच्छि नै छन् ।

चारबर्षको अवधिमा गाईबाटै भएको आम्दानीले गाई थप्ने क्रम अहिले पनि रोकिएको छैन । लगानी जोड्दा डेढ करोड नाघिसकेको छ । बाच्छि २५ हजार गोटागन्ति हातहातै विक्रि हुन्छन् । तर बाच्छि बेच्ने कुनै हतारो छैन । किनकी तिनै बाच्छि हुर्काएर एक वर्षभित्रमै सयवटा गाई पु¥याउने उनीहरुको लक्ष्य छ ।

काँकडभिट्टा बजारबाट साढे ६ किलोमिटर उत्तरमा रहेको कृषि फारम रमित लाग्दो छ । बाँसको घेराबेरा गरिएको उनीहरुको फारममा उघ्राइरहेका गाई, सप्रीएका बाच्छाबाच्छि छन् भनें एउटा कुनामा चारहजार भन्दा धेरै कुखुरा पालिएको लामो खोर छ । अव ५० वटा सुँगुरका पाठा हाल्ने योजना पनि बन्दैछ । Jhapa farm 1

गाइका लागि घाँस काट्ने तीनजना कामदार छन् जसले महिनामा ८ हजार तलव पाउँछन् । गोठ सफा गर्ने, दुध दुहुने र गाइ तथा फारमको हरहिसाब राख्ने समेत १४ जनाले रोजगारी पाएका छन् । उनीहरुको तलव यसभन्दा धेरै छ ।

काम सवेरै विहान सुरु हुन्छ । दैनिक साढे चारसय लिटर दुध र बाइस सय भन्दा धेरै अण्डा उत्पादन गरिरहेको फारमको आयस्ताको हरहिसाब दैनिक ३० हजार हुन्छ । महिनामा ३० हजारको त गोवर र कुखुराको सुली मात्र विक्रि हुन्छ । कर्मचारीको तलव, गाई र कुखुराको औषधि र दाना खुराकी, दुध र अण्डा बजार लगेको ढुवानी खर्च, बिजुलीको बिल लगायत सबै खर्च कटाउँदा पनि दिनमा १० हजार भन्दा धेरै नाफा छ । “काम गर्दा राम्रै फलिफाप हुँदो रहेछ” सन्तुष्ट स्वरमा निरज र रबीले भने ।

भिडन्तमा परिएला र ज्यान जाला भन्ने डरले नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टको जागिर छोडेर बाँच्दै गरिखान परदेश लागेका निरज भन्छन्, “हरिया खेतबारीको महत्व नबुझेर र गाउँघरमा गरिखान नजानेर हातमा डिग्रीको प्रमाणपत्र भएकाहरु पनि भाषा, संस्कृति, बोलचाली र आनीबानी केहि नमिल्ने मरुभूमी देश हान्निइरहेका छन् । तर मेरो अनुभवले भन्छ उता कमाउने जति पैसा हामी यहिं कमाउन सक्छौं, के गर्ने भन्ने कुरा चाहिं आफैं टुँगोे गर्नुपर्छ ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय