काठमाडौं, कात्तिक १०– काठमाडौंमा दुई दिने बृहत राष्ट्रिय श्रमिक सम्मेलन सोमवार सुरु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन काँग्रेस (एनटियूसी) र अखिल नेपाल ट्रेड युनियन महासंघ(आन्टुफ) को आयोजनामा भएको कार्यक्रममा एक हजार दुई सय श्रमिक नेता तथा कार्यकर्ता सहभागि छन् ।
सम्मेलनको पहिलो दिन सोमवार प्रस्तावित श्रम ऐन, सामाजिक सुरक्षा कोष ऐन र सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिए । कार्यपत्र माथि सहभागि मध्येबाट ९ वटा समुह बनाई समुहगत छलफल गरिएको थियो । मंगलवार समेत दिनभरि चल्ने छलफलबाट मुख्य सुझावहरु संकलन गरिने जिफन्टले जनाएको छ ।
सम्मेलनबाट प्राप्त सुझावलाई संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसीसी)मा रहेका अरु ट्रेड युनियनहरुसँग पनि छलफल गरिने जनाईएको छ । प्राप्त सुझावहरुका आधारमा कानुन निर्माण तथा श्रमिक अधिकार सुरक्षाका बिषयमा दवाव सिर्जना गरिने जिफन्टका अध्यक्ष बिष्णु रिमालले बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सार्टुकका महासचिव लक्ष्मण बस्नेतले युरोप लगायत अरु देशमा मजदुर तथा श्रम अधिकार कटौती भैरहेको अवस्थामा नेपालमा भने सहमतीको वातावरण बन्दै गएको भन्दै खुसी व्यक्त गरे । संसदमा श्रमिक वर्गको प्रतिनिधित्व र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यबस्था हुनुपर्नेमा उनको जोड थियो ।
जिफन्ट अध्यक्ष रिमालले नेपालमा प्रमुख तीनवटा ट्रेड युनियन मात्र बलियो भएर नपुग्ने बताउँदै समग्र श्रम आन्दोलन बलियो हुनुपर्नेमा जोड दिए । सम्मेलन दुई दिनसम्म चल्नेछ ।