
शैलेश यादव, बिराटनगर- खाडीका देशहरु यूएई, साउदी अरव, ओमान, कुवेत, कतार वा बहराइन जुनसुकै देशमा नेपाली महिला घरेलु कामदार पुगेका छन् । उनीहरु मध्ये कतिपय बैधानिक रुपमा गएका छन् भनें कतिपय अवैधानिक बाटो हुँदै पुगेका छन् । त्यसरी गएका मध्ये केहिले राम्रै आम्दानी गरेपनि धेरैजसोले न्यून आम्दानीमा धेरै श्रम गर्नुपरिरहेको बताएका छन् ।
विराटनगरकी जानुका राजवंशीलाई खाडी मूलक भनेको कति टाढाको देश हो भन्ने कुनै पत्तो थिएन । यता आफ्नो पुरानो घर भत्किन आँटेको थियो । सल्लाह दिने आफन्तले कमाईका लागि विदेश नै उपयुक्त हुने सुझाव दिए । कतिपयले त विदेश गएपछि मालामाल नै हुन्छ समेत भने । त्यसैले २४ बर्षे जानुका राजवंशी त्यहि ‘मालामाल’ हुने सपना देख्दै दलालको साथ लागेर हिंड्नि साउदी अरव ।
भारतको बाटो हुँदै हिंडेकी उनलाई आखिरमा दलालले कुवेत पुर्यायो । कुवेत र साउदी अरवमा कुनै फरक थिएन जानुकाका लागि । उनलाई त केवल ‘मालामाल’ हुने गरी कमाउनु थियो ।
तर त्यहाँ न मालामाल हुने ठाउँ भेटियो न त सुविस्ताको काम नै । “काम १८ घण्टा भन्दा धेरै गर्नुपथ्र्यो तर तलव दिने बेलामा जहिले पनि किचकिच हुुन्थ्यो” कुवेत बस्दाको क्षण सम्झँदै उनी भन्छिन् – हरेक महिना तनखा(तलव) माग्दा किन चाहियो अहिले नै तलव, एकैपटक ६ महिनामा दिउँला भन्दै टार्छन् र अन्तिममा घर न घाटको बनाएर छोड्छन् ।
बिहान ५ बजेदेखि राती २ बजेसम्म काम गर्दा तथा विरामी हुँदा समेत फुर्सद नपाइने भन्दै उनी काम अनुसारकोे दाम खाडीका मुलुकमा नभएको बताउँछिन् ।
बैदेशिक रोजगारीका लागि खाडीका मुलुकमा पुगेर फर्केका धेरैजसोको भोगाई मिल्दो जुल्दो नै छ । धन कमाउने र अलिक सुखको जिन्दगी बाँच्ने सपना देख्दै साउदी अरव पुगेकी मोरङ्को बैजनाथपुरकी शान्ता राजवंशीलाई त अझ ठूलो आपत आइपर्यो । साउदीमा जेल परेर फर्केकी शान्ता अव कहिल्यै त्यो ‘पापी मुलुक’ आफु कहिल्यै नजाने र अरुलाई पनि नजाने सल्लाह दिने बताउँछिन् ।
मासिक १५ हजार तलव पाउने आशमा साउदी पुगेकी उनी आधा पेट खाएर रातदिन घोटिंदा पनि साहुको चित्त बुझाउन नसकेको बताउँछिन् । दलालले नेपाली चेलीलाई बेच्ने गरेका कारण धेरै दुःख पाउने गरेको उनको अनुभव छ । घरमालिकको ज्यादति सहन नसकेर भागेर प्रहरीसम्म पुगेपनि जेल हालिएकी उनी एकबर्षपछि बल्लतल्ल नेपाल फर्किन सफल भएकी हुन् ।
एजेण्टका नाममा अवैधानिक रुपमा गाउँ–गाउँमा काम गर्ने दलालहरुको भर परेर वैदेशिक रोजगारीमा जाँदा धेरै नेपाली महिला यसरी नै ठगिमा परिरहेको सम्वन्धित क्षेत्रमा कार्यरतहरु बताउँछन् । झापाकी देवी हास्दा अहिले एक सामाजिक कार्यकर्ता भएकी छन् । उनी महिला वैदेशिक रोजगारमा जाादा ध्यान दिनु पर्ने कुराका बारेमा ग्रामिण क्षेत्रमा चेतना फैलाउन जुटेकी छन् । उनले पनि बिदेशमा ५ बर्ष पसिना बगाइन् ।
तर उनको पनि कमाई चाहिं सोचे जस्तो भएन । घरेलु काम गर्न कुवेत पुगेकी देवी अहिले अरुलाई त्यस्तो काममा नजान सल्लाह दिन्छिन् । कम्पनीको काममा जाँदा समस्या नहुने भन्दै देवी घरेलु काममा भनें झुक्किएर पनि जान नहुने बताउँछिन् । भाषा र सीप नसिकी वैदेशिक रोजगारीमा जाँदा धेरै अप्ठ्यारो आइपर्ने उनको अनुभव छ । रोजगारदाताले के भनेका हुन् भन्ने कुरा नबुझ्दा पनि धेरैजसो नेपाली महिलाले अनावश्यक रुपमा दुःख पाउने गरेको उनी बताउँछिन् ।
(विराटनगरमा आयोजित एक कार्यशालाका सहभागिहरुसँग कुराकानीमा आधारित । तस्वीर प्रकाशन नगर्न आग्रह गरिएकोले स्केच प्रयोेग गरिएको छ । यी तस्वीर र स्केचहरु इन्टरनेटबाट लिइएको हो ।)