दसैंमा घर फर्किएकालाई दुःख दिन थालियो

रुपन्देही(रासस) भारतमा रोजगारी गरी दसैं मनाउन स्वदेश फर्किएका नेपालीले रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियामा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न ठाउँमा रोजगारी गरी दसैं मान्न नेपाल फर्केकाहरुले नाकामा भारतीय सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो गरेका छन् । त्यस्तै नेपाल प्रवेश गरेपछि पनि भन्सार जाँचका नाममा आफूहरुलाई दुःख दिने गरेको गुनासो उनीहरुले गरेका छन् ।

बिशेषगरी साँझ, बिहानको समयमा जाँचका नाममा भन्सारका कर्मचारी तथा डन्डा पुल नजिकै सशस्त्र प्रहरीका जवानले स–साना झोलला, पर्स खोतल्ने, परिवारका लागि ल्याएको कोसेलीको पनि भन्सार शुल्क लाग्छ भन्दै पैसा माग्ने र लामो समय अल्मल्याईदिने गरेको उनीहरुको गुनासो छ ।

भारतको मुम्वईबाट शुक्रवार बिहान सुनौली आइपुगेका धादिङ र नुवाकोटका युवाको टोेलीले सीमापारी प्रतिव्यक्ति डेढसय र वारी १ सयका दरले भन्सार शुल्कको नाममा कर्मचारीले पैैसा असुलेको गुनासो गरेको आजको कारोवार दैनिकले खवर छापेको छ ।

धादिङ बैरेनीका नील मगरले गोरखपुर, नौतनवा र सुनौलीमा गरी ३ ठाउँमा भारतीय सुरक्षाकर्मीले पैसा मागेर आफूहरुलाई हैरान पारेको बताए । “दुई ठाउँमा त हामी जेनतेन पैसा नदिई फुत्कियौं तर सुनौलीमा पैसा नदिई सुखै भएन” उनले भने ।

सोही टोलीमा नेपाल आइपुगेका नुवाकोटका बद्री सिग्देलले नेपाल प्रवेश गरेपछि बेलहिया नाकामा बसेको जाँच टोलीले सँगै आएका एक साथिको झोला खोतलेल सामान लथालिंग पारिदिएपछि अन्य साथिले झोला अनुसार सय–डेढसय तिरेर हिंडेको बताए ।

हरेक बर्ष दसैंको समयमा नेपाल प्रवेश गर्ने नेपालीलाई भारतसँग सीाम जोडिएका नाकामा यसरी नै दुःख दिने गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय