काँग्रेसलाई गिज्याउँदै नेविसंघ !

श्रीधर पौडेल, काठमाडौं, असोज १०– विधानमा भएको ‘हरेक दुई बर्षमा अधिवेशन हुने’ व्यवस्थालाई व्यवहारमा अभ्यास गरिएको हुन्थ्यो भने विसं २०६६ सालयता नेपाल विद्यार्थी संघले तीनवटा नयाँ अध्यक्ष पाईसकेको हुन्थ्यो । तर, २०६४ साल जेठमा दुई वर्षका लागि प्रदीप पौडेललाई वैधानिक अध्यक्ष चुनेयता नेविसंघले अर्को निर्वाचित अध्यक्ष पाएको छैन । नेविसंघ हाल पनि तदर्थ समितिकै भरमा चलिरहेको छ । २०६९ माघमा ६ महिनाका लागि भनेर पार्टीले टीका लगाएर बनाएका अध्यक्ष रञ्जित कर्णले नै हाल नेविसंघको नेतृत्व सम्हालिरहेका छन् ।

पछिल्लो पटक २०६४ साल जेठमा चितवनमा नेविसंघको १० औं अधिवेशन भएको थियो । सो अधिवेशनबाट निर्वाचित प्रदीप पौडेल नेतृत्वको कार्यसमितिलाई काँग्रेस केन्द्रीय समितिले भंग गर्न खोजेपछि असन्तुष्ट भएका पौडेलले राजीनामा दिएका थिए ।

लामो समयसम्म तदर्थ समितिकै भरमा चलिरहेको संघको नयाँ नेतृत्व चयनका लागि यसअघि पटक–पटक मिति तोकिएपछि अन्तिम समयमा आएर स्थगित हुँदै आएको छ । यसअघि २०७० भदौ, पुस र २०७१ असारका लागि संघको अधिवेशनको मिति तोकिएपनि हुन सकेनन् । पछिल्लो पटक गएको भदौ २९, ३० र ३१ गतेका लागि तय भएको अधिवेशन पनि स्थगित भयो । कात्तिक ३० देखि मंसिर २ गते सम्मका लागि पाँचौपटक मिति तय गरिएको छ ।

प्रजातन्त्र र विधिको शासनको वकालत गर्ने पार्टीको भातृ संगठनको अधिववेशन बर्षौं हुन नसक्नुले नेपाली काँग्रेसलाई नै गिज्याईरहेको छ । तिथी मिति घोषणा गरेर पनि अन्तिम समयमा आएर अधिबेशन स्थगित गर्ने पुरानो प्रकृया यसपटक पनि दोहोरियो ।

संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नीलकण्ठ रिजाल यसले विधि र प्रकृयालाई नमान्ने गुटको रुपमा संघलाई परिभाषित गर्ने खतरा रहेको बताउँछन् । ‘जिल्लामा जिल्ला समिति र केन्द्रमा केन्द्रिय समितिको हस्तक्षेपले नै पटक पटक अधिबेशन स्थगित भएको हो ।’ उनी भन्छन् ‘पार्टिको आन्तरिक समस्या मात्रै हैन, लामो समय देखि तदर्थवादमा चलेको संघ भित्रैको बेथितीले पनि यसलाई सघाएको छ ।’

कोईराला र देउवा खेमामा बाँडिएको पार्टी एक त भयो तर कार्यकर्ता र भातृ संगठनमा पार्टीको एकता गराउन नेताहरु असक्षम भएका छन् । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो क्यान्सर त निको पारे तर पार्टीका भातृ संगठनमा लागेको घाउले बनाएको क्यान्सरको भेउ नै नपाएको नेविसंघका पुराना नेताहरु बताउँछन् ।

नेविसंघका पूर्व अध्यक्ष गुरु घिमिरे पार्टी एकिकरण पछि पनि कायम रहेका समानान्तर समितिलाई बेलैमा सम्बोधन गर्न नसक्दा नै यो समस्या आएको तर्क गर्छन् । उनी भन्छन् ‘यसले संस्थाहरुलाई कमजोर मात्रै होइन, नेतृत्व विकासलाई अवरुद्ध पार्छ, कार्यकर्तामा निराशा छाउँछ र समग्र पार्टी संगठनलाई कमजोर पार्छ ।’ Gururaj Ghimire

नेविसंघको नयाँ नेतृत्वका लागि एक दर्जन भन्दा धेरै आकाँक्षी छन् । देउवा पक्षबाट नैनसिंह महर बलिया उम्मेद्वार देखिएपनि संस्थापन पक्षबाट को आधिकारिक हुने भन्ने कुरा स्पष्ट नहुनु पनि अधिवेशन हुन नसक्नुको एउटा कारण हो । आफ्ना तर्फबाट बलिया उम्मेद्वारको टुङ्गो नलागुञ्जेल बरु कर्णलाई नै राख्दा फाईदा हुने संस्थापनको बुझाई छ ।

चार पटकसम्म स्थगित भएर पाँचौ पटकका लागि तय भएको मितिमा संघको अधिवेशन हुन्छ भन्ने विश्वस्त आधार देखिएको छैन । किनकी यस अघि जुन कारणले अधिवेशन हुन सकेको थिएन त्यसको उचित समाधानको विधि निर्माण काँग्रेसका लागि चुनौतिपूर्ण विषय हो ।

Nabindra Raj Joshiविद्यार्थी विभागका संयोजक नविन्द्रराज जोशी संघको नेतृत्व निर्वाचनबाटै होस् भन्ने पार्टीको आधिकारिक धारणा भएको बताउँछन् । ‘यस अघिको भन्दा यस पटक स्थगित हुनुको खास कारण चाँहि समयमा नामावली प्राप्त नभएरै हो’ जोशी भन्छन् ‘नेविसंघ भनेको पार्टीको भावी पुस्ता तयार गर्ने निकाय हो । नेतृत्वका लागि उम्मेद्वार त भए तर नयाँ विचार र नयाँ धारणा नै तयार भएन ।’

अहिलेसम्म सुर्खेत, रुपन्देही, चितवन, कास्कि र धनुषाको अधिवेशन प्रकृया नै शुरु भएको छैन । ९ जिल्लामा रहेका विभिन्न क्याम्पसहरुको ईकाई समितिको अधिवेशन पनि हुन सकेको छैन । बाँकी अधिवेशनको प्रकृया कहिले शुरु हुन्छ र कसरी नेतृत्व चयन गर्छ भन्ने कुरा नै यतिखेरको मुख्य चुनौति हो । यसमा पार्टी भित्रको कलह र त्यसको ब्यवस्थापनको विधि के कसरी तय गरिन्छ भन्ने कुराले नै संघको नयाँ कार्यसमिति चयनको बाटो तय हुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय