‘फर्कें, कमसे कम ज्यान त बच्यो’

देवविलाश यादव सप्तरी- बैदेशिक रोजगारीमा नेपाली जाने मध्ये उच्च संख्यामा पर्ने सप्तरीमा पीडितको संख्या पनि ठूलो छ । सरकारले तोकेभन्दा धेरै लागत खर्च लिने देखि विदेशमा पुगिसकेपछि नेपालमा भने अनुसारको काम र तलव नपाउने समस्या धेरै नेपालीले भोगिरहेका छन् । बैदेशिक रोजगारीकै क्रममा कतिपय व्यक्ति समस्यामा परेर नेपाल फर्किएका छन् भनें कतिपयलाई नेपाल फर्किन समेत मुस्किल पर्ने गरेको छ । कतिपय पीडितले नेपाल फर्किन कानूनी प्रकृया समेत पार गर्नु पर्दछ । यसै सन्दर्भमा रोजगारीका लागि मलेसिया पुगेर निक्कै समस्या खेपेर नेपाल फर्केका एक युवाको कुरा उनकै शव्दमा : मेरो नाम आनन्द परियार हो । मेरो घर सप्तरी जिल्लामा पर्दछ । म स्थानीय एक सरकारी विद्यालयमा राहत कोटाको शिक्षकका रुपमा पढाउने गर्दथे । सो जागिरको कुनै ठेगान नभएका कारण मैले जागिर छोडें र केहि कमाई हुने कामको खोजिमा थिएँ । एकजनाले मलाई मलेसियामा राम्रो कमाई हुने कामको डिमाण्ड आएको बतायो । मैले पनि नेपाल बसेर भन्दा विदेश गएर नै कमाई हुन्छ भन्ने ठानें र पासपोर्ट बनाएर उसलाई दिएँ । थुप्रै व्यक्तिले विदेशबाट कमाएर ल्याएको पनि मैले देखेको, सुनेको थिएँ । Ananda Pariyar 2मैले पहिले बोर्डिङमा पनि पढाएको र कम्प्यूटरको पनि राम्रोसँग काम जानेको हुँदा सुपरमार्केटको काममा मलाई भिसा लगाइदिनु भनेको थिएँ । मेरो पासपोर्ट बोकेर गएको मान्छेले १५ दिनमा मलाई फोन गरेर भन्यो लौ तिम्रो भिसा आयो, सुपरमार्केटमा नै काम भयो । उसले काठमाडौं बोलायो । मैले काठमाडौं गएर स्वास्थ्य परिक्षण पनि गराएँ । सवै कुरा मेरो एजेण्टले नै गरिदिएका कारण मैले केहि कुरा पनि थाहा पाइन । मैले १ लाख ४५ हजार उसलाई दिएँ । बैदेशिक रोजगारीमा उड्न काठमाडौं गएपछि उसले निक्कै राम्रो लजमा मेरो बस्ने प्रवन्ध गरिदिएको थियो । त्यहाँसम्पूर्ण सुविधा थिए । हामी निक्कै खुसी थियौं राम्रो काम पाइयो, अव निक्कै कमाईन्छ भन्नेमा आशावादी पनि थियौं । तर मान्छेलाई मोहित पार्न पो त्यसो गरिंदो रहेछ । बल्ल त्यो बुझ्दैछु । राती ११ बजे हाम्रो उडान थियो । हाम्रो सवै कागजपत्र एजेण्टले विमानस्थल पस्नु भन्दा केहि अगाडी मात्र दियो । त्यतिबेला नयाँ देशमा जाने उत्साह हुँदो रहेछ, त्यो कागजपत्र कसले हेर्छ र ? फेरी आफू ठगिमा परिएको कुरा थाहा पनि त हुन्न । हामी पनि कागजपत्र नहेरी विमानस्थल पस्यौं । हामी मलेसियामा विमानस्थलमा उत्रिने वित्तिकै एउटा फरक अनुभव भयो । एउटा ठूलो कोठा रहेछ त्यहाँ यता टुसुक्क बस् भनेर हप्काउँदै बसायो । मनमा चिसो पस्यो । हाम्रो समुहमा ४५ जना थियौं । अरु पनि जोड्दा झण्डै २ सय नेपाली थियौं होला । त्यहाँ बसेको दुई मिनेट भएको छैन, उता जा भनेर खेद्छ । यता र उता दौडिनु पर्नथाल्यो । त्यसै गरेर दुईतीन घण्टा लगायो । निक्कै बेर बसुञ्जेल कम्पनीको मान्छे हामीलाई लिन आएन । हामीसँग त्यहाँको प्रहरीले १० रिंगिट माग्न थाल्यो । जसले पैसा दिएन कुट्न थाल्यो । पैसा दिनेलाई भनें केहि खानेकुरा दिन्थे । घण्टौं त्यहाँ पर्खिंदा शौचालय जान मन लाग्थ्यो । सोधौं सोध्ने मान्छे नै छैन । कोहि लुसुक्क शौचालय पस्न खोज्थे र तिनै रुखो व्यवहार भएका प्रहरीको कुटाई खान्थे । त्यो देख्दा वेकारमा मलेसिया आइएछ भन्ने पर्न थाल्यो । बेलुका बल्ल हाम्रो कम्पनीको मान्छे हामीलाई लिन आयो । कम्पनी टाइकोप्लास भन्ने रहेछ । कम्पनीबाट २० मिनेट जति टाढा हाम्रो बस्ने कोठा दियो । कोठा के भन्ने त्यसलाई हाम्रोतिर बाख्राको खोर जस्तो हुन्छ, त्यहि कोठा थियो हाम्रो । त्यहाँको दुःख सवै मैले मोवाइलमा खिचेर पनि ल्याएको छु । हामीलाई यहाँबाट पठाउँदा प्याकिङको काम भनेर पठाएको थियो । तर मलाई मेसिन चलाउन लगायो । गएको भोलिपल्टै देखि काममा खटायो । धान कुट्ने मेसिन जस्तै थियो तर आकार चाहिं ठूलो ट्रक जत्रै । त्यसमा लगेर बोराबाट कच्चा सामान हाल्नु पर्ने । एकछिन ढिलो भयो की मेसिन बन्द हुने र मेसिन बन्द भयो की दुई सय रिंगिट काटिन्छ । त्यो गर्नै नसकिने काममा परें म । विहानको खाना खानेसमय आधा घण्टा छुट्टी हुन्थ्योे । त्यो समयमा कुदेर बस्ने कोठामा आइपुगेर खाएर कुदेरै जानु पथ्र्यो । हिंडेर आउजाउ गर्दा त ४५ मिनेट लागिहाल्थ्यो । कम्पनीले दिएको आधा घण्टाको छुट्टीमा एक मिनेट ढिलो भयो की पैसा काटिदिन्थ्यो । हामीले मजबुरीले काम गर्याैं । नेपालमा एजेण्टलाई फोन गर्यौं, तर केहि भएन । मलेसियाको एजेण्ट आयो तर उसले पनि केहि गरेन । हामी धेरै रुन्थ्यौं त्यहाँ बस्दा । बरु जति पैसा तिरेर भएपनि हामी घर जान्छौं भन्थ्यौं । तर कम्पनीले कुरै सुन्दैनथ्यो । नेपालमा गरिएको हाम्रो सम्झौतामा १२ सय ३४ रिंगिट तलव हुने, ८ घण्टा काम हुने र प्याकिंगको काम भनेर लेखिएको थियो । तर हामीलाई ९ सय बेसिक दियो । हप्ताको विदा पनि दिन्नथ्यो । त्यति काम गर्दा पनि बढीमा ७ सय २० रिंगिट पायौं महिनाभर काम गर्दा । होस्टल, विजुली सवैको पैसा काट्थ्यो । यतिसम्मकी ट्वाईलेट प्रयोग गरेको समेत मासिक ५ रिंगिट काट्थ्यो । प्रत्येक दिन एक न एकजना नेपालीकोे पैसा काटिन्थ्यो । जता हेर्यौ उतै पैसा काट्न ठिक्क पर्ने । म एक बर्ष बसें मलेसिया एक पैसा नेपाल पठाउन सकिन ।Ananda Pariyar हाम्रो पासपोर्ट कम्पनीले राखिदिएको थियो । मैले कम्पनीमा गएर आफू विरामी भएको र औषधि किन्नु पर्ने भएकाले पासपोर्टको फोटोकपी देउ भनें । मैले झुक्याएर पासपोर्टको फोटोकपी हात पारें । त्यसपछि म त्यो बोकेर भागेर क्वालालम्पुरमा रहेको दुतावास पुगेर ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्के । म तीन बर्ष बसेको भए पनि म एक पैसा पनि नेपाल पठाउन सक्दिनथें । फर्कें कमसे कम ज्यान त बच्यो । त्यहाँ बसेको भए त ज्यानको पनि ठेगान थिएन । त्यहाँ डेंगुको समस्या थियो । कोहि विरामी परेमा उपचार गरिन्नथ्यो । त्यो त अत्याचारी ठाउँ नै रहेछ । मलेसिया त जानै नहुने देश रहेछ । म त अव कहिल्यै विदेश जान्न । विदेशमा दुःख पाएर आएको कुरा मान्छेले अरुलाई भन्दैन रहेछन् । हामीले भोगेर आए अनुसार विदेश जानु हुन्न । विदेश जाने नै हो भनें कुनै कला, सीप लिएर जानुस् भन्छु । हामी त झ्याप्पै गएर फसिहाल्यौं । अव कोहि जाँदै हुनुहुन्छ भनें त्यसरी नजानु होला । ठगिमा परेको म लगायत अन्य ५ जनाले राजविराजमा रहेको सुचना केन्द्रमा निवेदन हाल्यौं । त्यसपछि हामीलाई पठाउने एजेण्टले हामीलाई ८० हजारको दरले चेक दियो । तर त्यो चेकबाट पैसा निकाल्न जाँदा खातामा रहम नै नभएको पाइयो । त्यसपछि फेरी हामीले सुचना केन्द्र मार्फत एजेण्टसँग छलफल गरी त्यो रकम लिन सफल भयौं । बाँकी रकम पनि दिन्छु भनेको छ । अहिले त्यसका लागि प्रयासरत छौं । (यादव, हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपाल, सामी परियोजनाको सहयोगमा सप्तरीको राजविराजमा गणेशमान सिंह स्मारक फाउण्डेसनद्धारा सञ्चालित सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रका संयोजक हुन्) यो पनि पढ्नुहोस् बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय