काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा पारेर एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।
आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक गरी तीन जना नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये एक नेपाली नागरिक भएको पुष्टि भए पनि उनको विस्तृत विवरण सार्वजनिक भएको छैन।
युएईको रक्षा मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाएअनुसार इरानले हालसम्म १ सय ६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार भएका छन्। यूएईको अत्याधुनिक हवाई रक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरे पनि ३५ वटा ड्रोन मुलुकका विभिन्न भूभागमा खसेका थिए। तीमध्ये २१ वटा ड्रोनले सिधै नागरिक बस्ती र भौतिक संरचनामा ठक्कर खाँदा मानवीय क्षति हुन पुगेको हो।
घाइते पनि भए नेपाली
यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन्। मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ।
एएफपीका अनुसार इरानी अधिकारीहरूले यसलाई “आफ्नो सुरक्षा स्वार्थका लागि गरिएको प्रतिशोधात्मक कदम” भनेका छन् यता, यूएईले भने यसलाई “नागरिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन” भन्दै भर्त्सना गरेको छ। अन्तर्राष्ट्रिय समुदायले यस घटनापछि मध्यपूर्वमा ठूलो युद्ध भड्किन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।
