देश परदेश: १० औं बर्षमा

एक दशक आफैंमा एउटा ठूलो खुड्कीलो हो । सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारीका लागि भन्ने सन्देश सहित देश परदेशले स्थापनाको नौ बर्ष पुरा गरी अव १० औ बर्षको खुड्कीलोमा पाइला टेकेको छ । यो अवसरमा हामी हाम्रा पाठक, शुभचिन्तक, सहयोगी सम्पूर्णप्रति आभारी छौं ।

१० गते १० बजे भन्ने घोषणा सहित २०७१ असोज १० गते हामीले देश परदेशको औपचारिक सुरुवात गरेका थियौं । विश्वभरीबाट हजारौं व्यक्तिले सामाजिक सञ्जाल मार्फत देश परदेश सुरुवात भएको सार्वजनिक गर्नुभएको थियो जसलाई हामीले हाम्रो औपचारिक शुभारम्भ मानेका थियौं । त्यहाँबाट सुरु भएको यात्रा २०८० सालसम्म आइपुग्दा नेपालमा वैदेशिक रोजगारको रिपोर्टिङमा आमुल परिवर्तन आइसकेको छ । सिमित सञ्चार माध्यमहरुले मात्र वैदेशिक रोजगारीको विषयलाई प्राथमिकता दिइरहेको सो समयमा विषय केन्द्रीत अनलाइनको सुरुवात आफैंमा एउटा महत्वपूर्ण काम थियो । पछिल्लो एक दशकमा वैदेशिक रोजगारको विषयले नेपाली सञ्चार माध्यममा यति धेरै प्राथमिकता पाउनुले वैदेशिक रोजगारका विषयमा धेरै महत्वपूर्ण योगदान पुगेको छ । नितिगत परिवर्तनका लागि दवावकारी काम देखि पीडितलाई न्याय दिलाउनेसम्मका काममा नेपाली सञ्चार माध्यमले महत्वपूर्ण योगदान गरेका छन् । त्यसमा देश परदेशले आफ्नो क्षेत्रबाट गरेको योगदानलाई पक्कै समाजले स्मरण गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

चाहे हराएका परदेशी खोज्ने अभियान होस् वा परदेशीका श्रीमतिले भोग्दै आएका सामाजिक दुव्र्यवहारका विषयलाई उजागर गर्ने होस्, चाहे परदेशमा हुने मृत्युका विषयमा उठाइने आवाज होस् वा सीपको महत्वका बारेमा बुझाउने काम होस्, देशपरदेशले आफ्नो क्षेत्रबाट योगदान गरेको छ । यी विषयमा प्राप्त भएका उपलव्धीहरुले नै हाम्रो कामको सार्थकता पुष्टि गरेको छ ।

यात्रा चुनौतिपूर्ण छ । कोभिड १९ पश्चातको समयमा त्यो चुनौति अझ धेरै थपिएको छ । तर चुनौतिका बीचमा पनि हामी आफ्नो उद्धेश्यमा केन्द्रीत भएर अगाडी बढीरहेका छौं । यो यात्रा जारी नै रहनेछ । हाम्रो यो यात्रामा तपाईबाट विगतमा पाएको जस्तै सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरेका छौं । पुन: एकपटक हामी हाम्रा पाठक, शुभचिन्तक, सहयोगी लगायतमा हार्दिक आभार प्रकट गर्दछौं ।
सम्पादक तथा प्रकाशक
देश परदेश परिवार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय