
काठमाडौं, असोज ११-
बाबु कस्ता थिए भन्ने बुझ्नै पाइनन् उनले । आमाले भन्थिन्ः काठमाडौं तिरका हुन् । उनको सम्झनामा कुनै धमिलो तस्वीर पनि बाँकी छैन बाबुको । उमेरमै श्रीमानले छोडेर हिंडेपछि आमाले अर्कै घरजम गरिन् । अव त नभेटेको पनि धेरै बर्ष भयो । त्यसैले आमाको पनि कुनै अनुहार सम्झना छैन । उमेर २५ कटेको छैन तर जीवनका भोगाई त्यो भन्दा दोव्वर भइसकेका छन् ।
बाबुआमा नै नभएपछि उनी ठूलीआमाको घरमा नै हुर्किइन् । पढ्नु के थियो र ? ३ कक्षा पढेपछि विद्यालयको ढोका बन्द भयो । न उनलाई रहर थियो, न कर गर्ने कोहि भए । त्यसैले दाङकी यी युवती जीवनले जसोजसो हिंडायो त्यहि बाटो हिंड्दै गइन् ।
१४ बर्षकी हुँदै विहे भयो । श्रीमान् गतिलो व्यवहारका परेनन् । आफ्नै अघिल्तिर अरु ४/५ वटी महिलासँग सम्वन्ध चलिरहेको उनले आँखा चिम्लिन सकिनन् । त्यसैले सवैतिरबाट ठेलिंदै गएकी उनका सामु धेरै विकल्प बाँकी भएनन् । श्रीमानसँग सम्वन्ध तोड्ने, छुट्टै बस्ने निधो गरिन् उनले ।
बुटवलकी शीला यस्तै दुःख पाएका महिलाको ताकमा थिइन् । उनैले एउटा उपाय सुझाइन् कमाउन विदेश जाने । दुवई जाने सपना पाल्न थालिन उनी । “उमेर पुगेन दुवई जान” विदेश जाने सुर कसिसकेकी उनीलाई दलालले भने “अव केहि पैसा खुवाएर अर्कै मुलुक भनें जान सकिन्छ ।” ‘जे त पर्छ’ भनेर विदेश हिंड्न तयार उनलाई दलालले १५ हजार लिएर नागरिकता र पासपोर्ट बनाइदिए । “ईराक होइन कुर्दिस्तान पठाउँछौं, त्यहाँ कमाई पनि राम्रो हुन्छ” यसै भनेर फकाए दलालले । जाने बाटो तय भयो दिल्ली भएर ।
काठमाडौंमा पासपोर्ट हात परेपछि उनी एकरात बुटवल बसिन् । अनी तिनै शीलाले उनलाई दिल्ली पुर्याइन् । अर्की पनि एकजना युवती सँगै थिइन् । दुवई जान भनेर हिंडेकी उनलाई दिल्लीमा ओमनको टिकट दिइयो । त्यसपछि उनी कता लागिन् थाहा पाउने कुरा पनि भएन ।
दिल्ली ३ दिन बस्नु पर्यो । एउटा साँघुरो गल्ली भएर जानु पर्ने एउटा अँध्यारो कोठामा बन्दी जस्तै भएर बसिन उनी । उनलाई लिएर गएकी शीला दिल्लीमा दुई दिन बसेपछि केदार भन्ने अर्को दलाललाई जिम्मा लगाएर नेपाल फर्किइन् ।
असार लाग्ने बेला भएको थियो । ठ्याक्कै कति गते थियो सम्झनामा छैन उनलाई । उनलाई दलालले टिकट, पासपोर्ट र दुईथरी बोर्डिङ पास हातमा हालिदियो । “यो दुर्वई जान देखाउने, यो दुवई उत्रिएपछि अर्को देश जान देखाउने” रातीको २ बजे एयरपोर्ट पुर्याउँदै गर्दा दलालले अह्रायो । उनले त्यसै गरिन् । भोलीपल्ट विहान ९ बजे दुवई उत्रिएकी उनी २४ घण्टा पछि फेरी अर्को जहाज चढेर ३ घण्टा उडेपछि उत्रिइन् ईराक, नेपालले रोजगारीमा जान बन्देज लगाएको मुलुक । त्यो असारको १ गतेको दिन थियो । “मलाई फसाउँदै छन् भन्ने कुनै कुरा थाहा नै पाइन” जिफन्टको कार्यालयमा बसेर उनी भन्दै गइन् “ईराक जाने न मेरो रहर थियो न त पठाउनेले नै भनेका थिए ।” अर्थात जता बाटो डोरिन्छ उतै पाइला चाल्दै उनी ईराक पुगिन् ।
ईराकमा उत्रिएकी उनलाई लिन नेपाली दलाल आइपुगेकी थिइन् । सावित्रि नामकी ति महिलाले नै उनलाई लिएर बस्ने ठाउँ पुर्याइन् जहाँ ४ दिन बिते । त्यसपछि सुरु भयो उनको किनबेच । एउटा अरवी नागरिकले २५ सय डलर सावित्रिलाई तिरेर उनलाई लग्यो । पहिलो पटक उनी बेचिइन् । त्यहि अरवी नागरिकको साथ लागेर उनी बगदाद पुगिन् जहाँ एक महिना उनलाई राखियो ।
ठूलै मोलतोल पछि त्यो अरवी नागरिकले स्थानीय एक घरमा घरेलु कामदारका रुपमा उनलाई फेरी बेच्यो । ६ जनाको परिवार रहेको त्यो घर निक्कै ठूलो थियो । काम धेरै, काम गर्ने एक्लो मान्छे । त्यसमाथि साहुले पाइलैपिच्छे हातपात गर्न खोज्ने । मासिक ३ सय ५० डलर तलव दिने भनिएकी उनलाई एक डलर पनि तलव दिइएन । तलव माग्दा ‘तेरो दलालले खायो, तँलाई हामीले १३ सयमा किनेर ल्याएको हुनाले २ बर्षपछि मात्र तलव पाउँछेस्’ भन्न थाले । यसरी नै ६ महिना विताइन् उनले । यहि बीचमा धेरै किचकिच गरेको भन्दै साहुको घरमा आफ्ना बारेमा मारेर फलिदिने भन्दै कुरा गरेको सुनिन् उनले । यसले निक्कै तर्सायो उनलाई ।
कुटपीट, यौन दुव्र्यवहार, विना तलवको अचाक्ली कामले आजित उनले सुरुमै एउटा चलाखी भनें गरेकी थिइन् । लुकाएर राखेको मोवाइलबाट उनले कुवेतमै काम गर्ने एक नेपाली महिलालाई फोन गरिन् । उनले भाग्न सल्लाह दिएपछि दुई तल्ला माथिको झ्यालबाट हाम्फालेर भागिन् उनी ।
जाने ठाउँ कहिं थिएन । तिनै दिदिले पुनः उहि दलाल सावित्रिसम्म पुर्याईदिइन् । पासपोर्ट त्यो बसेकै घरमा छुटिसकेको थियो । त्यसैले एउटा बंगालादेशीले ५ हजार डलर लिएर नक्कली पासपोर्ट बनाइदियो । त्यहि नक्कली पोसपोर्ट बोकेर फेरी उनी अर्को घरमा काम गर्न पुगिन् । राती दुई तीन बजेसम्म काम गर्नु पर्दथ्यो । मासिक ३ सय डलर तलव दिन्छु भनेपनि ६ महिना काम गर्दा पनि त्यहाँ पनि कुनै तलव पाइनन् उनले । उल्टो घरमा आउने पाहुनाले हातपात गर्न खोज्ने । त्यसैले त्यहाँबाट उम्किने उपाय खोज्न थालिन् उनी ।
यहि बीचमा उनले फेसबुकमा लाइभ मार्फत आफ्ना समस्या बताइन् । उनको फेसबुकमा लाइभ भिडियो देखिन् ईराकमा नै काम गर्ने टीका ठकुरी जसले उनको उद्धारको चाँजोपाँजो मिलाइन् । ईराकमा बेलायती दूतावासमा काम गर्ने लोकेन्द्र बहादुर ओलीले उनको उद्धारमा सघाउने भए । दुईजनाको सल्लाहमा फोहोर फाल्ने बहानामा उनी भागेर टीका भएको ठाउँमा पुगिन् जहाँ पहिले नै लोकेन्द्रले एक स्थानीय नागरिकलाई उनको उद्धार गरी नेपाल नपठाएसम्म बस्ने, खाने बन्दोबस्त मिलाएका थिए । त्यहि घरमा एक महिना बसेपछि बल्लतल्ल नेपाल आउने व्यवस्था भयो । यसमा जिफन्ट आवद्ध क्यूपेक नेपालकी सचिव शान्ता बस्नेतले सघाइन् ।
घर फर्किन टिकट काट्ने पैसा थिएन । उनै टीका ठकुरीले २५ सय डलर हालिदिएर उनलाई नेपाल पठाएकी हुन् । टीकाले आफू नेपाल आउन भनेर राखेको पैसाले टिकट काटेर नेपाल फर्काएकी हुन् ।
“केटीहरुलाई बेचेर धेरैले पैसा कमाईरहेका छन्” उनले भनिन् “मलाई नै बेच्दा दलालले एक ठाउँबाट २५ सय डलर, एक ठाउँबाट १३ सय डलर अनी अर्को ठाउँमा ५ हजार डलरमा लगेको हो ।” मजस्ता धेरै दिदिबहिनी ईराकमा रोएर बसेका छन्– उनले भनिन् –हामीजस्ता सोझालाई ठग्ने र बेच्ने दलालहरुलाई कारवाही गर्न सरकारलाई मेरो आग्रह छ ।
(उनीसँगको संक्षिप्त अन्तर्वार्ता शनिवार विहान ९:१५ देखि १० बजेसम्म प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारण गरिएको छ ।)
यो पनि पढ्नुहोस् भिजिट भिषामा जानेलाई रोजगारी नदिन आग्रह