
काठमाडौं, पुस २२-
युएईमा एक नेपालीको हत्यामा समातिएका झापाका विष्णुप्रसाद उप्रेतीले व्लडमनी वापत २ लाख दिराम(करिव ५५ लाख) र ५ बर्ष जेल सजाय गर्ने तल्लो अदालतको फैसला माथिल्लो अदालतले सदर गरेको छ । नवलपरासीका रामबहादुर लामाको हत्या अभियोगमा समातिएका उप्रेती हाल जेल सजाय काटिरहेका छन् ।
युएईमा सहकर्मी लामालाई २०७२ साउन २२ गते राति हत्या गरेको अभियोगमा पक्राउ परेका उप्रेतीको सजाय कम गराउन परिवारले पहल गरेपनि उच्च अदालतले तल्लोे अदालतकै फैसला सदर गरेको हो ।
हत्या अभियोगमा पक्राउ परेपछि लामाकी श्रीमति हरिमायाले व्लडमनी लिने निर्णय गरेकी थिइन् । युएईको कानून अनुसार त्यसरी हत्या अभियोगमा समातिएका व्यक्तिलाई पीडित परिवारको आग्रह अनुरुप मृत्युदण्ड, माफी वा व्लड मनी मध्ये एउटा सजाय हुन्छ । पीडित परिवारले व्लड मनी स्वीकारेको अवस्थामा हत्या अभियोगमा समातिएका व्यक्ति छुट्छन् । तर त्यसरी छुटेका व्यक्ति युएईमा नैै बसेर काम गर्न भनें पाउँदैनन्, त्यस्ता व्यक्तिलाई सम्वन्धित देश फिर्ता पठाइन्छ ।
विष्णु पक्राउ परेपछि विष्णुका बाबु धर्मानन्दले लामा परिवारसँग आममाफी दिन आग्रह गरेको थियो । पछि लामा परिवारले आफूहरुले व्लडमनी स्वीकार्ने जानकारी दूतावास मार्फत अदालतलाई गराएपछि व्लड मनीको रकम तोकिएको हो ।
व्लडमनी तोकिए पनि उप्रेती परिवार सो रकम तिर्न सक्ने अवस्थाको भनें छैन । आर्थिक रुपमा निक्कै कमजोर उप्रेती परिवारले त्यो आफूहरुका लागि असम्भव विषय भएको बताए । विष्णुका बाबु धर्मानन्दले आफूहरुलाई औषधी खान समेत धौ धौ भइरहेको भन्दै यसमा सहयोग गरिदिन अपिल गरे । उनी स्वयं मुटुका रोगी हुन् । विष्णुका एक छोरा, एक छोरी छन् भनें रामबहादुरका दुई छोरी छन् ।
यो पनि पढ्नुहोस् सीप छैन ? त्यसो भए विदेश जान ऋण पाइन्न