
काठमाडौं, पुष ३-
उमेर भर्खर १७ बर्ष पुगेकी रोशन खातुनको विहे भएको तीन बर्ष भयो। १४ बर्षको उमेरमा नै बालविवाहको शिकार भएकी रोशन अव त विधुवा समेत भइसकिन् । विहे गरेको १ बर्षमै उनका श्रीमान् अव कहिल्यै नफर्किने गरी साउदी अरवमा नै अस्ताए । अर्थात १५ बर्षमै रोशन विधुवा भइन् ।
रोजगारीका लागि साउदी पुुगेको ९ महिनामै उनका श्रीमान महमद सबिर राइनले आत्महत्या गरे। २०७१ सालको पुुष २७ गते अन्तिम श्रम स्वीकृति लिएका श्रीमानले घर छोडेको दिन पनि रोशनलाई सम्झनामा छैन । यत्ति हो उनी उनलाई छोडेर कमाउन हिंडे ।
तर त्यसको ९ महिनापछि श्रीमानको मृत्युको खबर आइपुग्यो । उनलाई श्रीमान गुमाउँदाको पीडा त थियो नै बसिरहेको घरबाट समेत ससुराले उठीबास लगाए । ‘छोरो बित्यो, अब तिम्रो काम छैन, जाउ माइतीमै बस’ धनुुषाको महेन्द्रनगर नगरपालिका ७ की रोशन खातुनलाई श्रीमान गुमाएपछि ससुुरा लियाकत मियाँले भनेका शब्द यीनै हुन् ।
दुुईचार जनाका अगाडी बोल्न पनि आँट आउँदैन उनलाई । त्यसैले ससुुराले ‘घर छोड्’ भन्दा उनले त्यसको प्रतिवाद गर्न सकिनन् । अनी लुरलुरु बाटो लागिन् लुुगाफाटाको पोको बोकेर । एउटी विवाहित महिलाको अन्तिम आश्रयस्थल माइत पुगिन् उनी ।
शव आउन समय लाग्यो । उनी माइतमा थिइन् । यता शव ल्याएर मुस्लिम परम्परा अनुसार दाहसंस्कार पनि भइसकेछ । तर त्यसको सुईंको समेत दिइएन उनलाई । उनले श्रीमानको अन्तिम पटक मुख समेत हेर्न पाइनन् । शव बुझ्ने प्रकृयामा भएको खेल पनि विचित्रको छ ।
छोराको मृत्यु भएको केहिदिनमा नै उनका बाबु लियाकत काठमाडौं आए । राहत रकम लिने प्रकृयामा सहयोग माग्न उनी प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) पुुगे । त्यहाँ जव छोराको मृत्यु पश्चात प्राप्त हुने रकम बुहारीले पाउने थाहा पाए उनी छाँगाबाट खसेजस्तो भए । बैदेशिक रोजगारका क्रममा ज्यान गुमाउनेहरुका परिवारले पाउने रकम श्रीमतिले बुझनु पर्ने कानूनी व्यवस्था रहेको जानकारी गराएपछि लियाकत ‘बरु छोराको शव साउदी अरवमै किरा परे परोस् नेपाल नल्याउने’ भन्दै घर फर्किए । रकमका लागि मान्छे कतिसम्म हुनसक्छ भन्ने सायद यो एउटा उदाहरण थियो ।
जति सम्झाए पनि उनी बुहारीको नाममा प्रकृया अगाडी बढाउन राजी भएनन् । यसरी नै ९ महिना वित्यो । उता शव बुुझ्ने मान्छेका लागि साउदीबाट ताकेता आइरहेको थियो । झण्डै ९ महिनापछि लियाकत पुनः काठमाडौं आए बुहारीले अर्को बिबाह गरिन् भन्दै । उनले बुहारी पोइल गएको भन्दै छोराको शव नेपाल मगाइदिन आग्रह गरे । प्रकृया अगाडी बढ्यो । साढे दुई महिना पछि शव नेपाल आइपुग्यो । पिएनसिसीकै सहयोगमा सबै कागजात पठाएपछि सबिरको शव त आयो तर रोशनले यो कुरा पत्तै पाइनन् । उनलाई थाहै नदिई उनका श्रीमानको दाहसंस्कार गरियो ।
सबिरको दाहसंस्कार सकेको केहि समयपछि मात्रै रोशनले थाहा पाइन् । त्यसपछि पुनः सुरु भयो पैसा हत्याउने खेल । छोरो अविवाहित भएको कागजात तत्कालिन गाविस कार्यालयबाट बनाएर बाबु लियाकत पुनः काठमाडौं आए एक्लै रकम हत्याउने उद्धेश्य बोकेर । यसबीचमा सवै प्रकृया बुझिसकेका लियाकत सिधै वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड पुगे र रकम निकाल्ने सम्पूर्ण व्यवस्था मिलाए । उनले रकम लिने अन्तिम चरणमा पुगेको बखत पुनः पोल खुल्यो र रकम रोकियो ।
रकम त रोकियो तर सबिरको मृत्युसँगै साउदीबाट आएका सवै कागजात बाबु लियाकतसँगै छन् । कानून अनुसार उनलाई बोर्डले रकम दिंदैन, उनी बुहारीको नाममा रकम निकाल्न मान्दैनन् । बुहारीले आफ्नो नाममा प्राप्त हुने १० लाख मध्ये ५ लाख आफू ससुरालाई दिन तयार छु भनेपनि यसमा ससुरा असहमत छन् ।
गाउँले सवै साक्षि छन् । तर १४ बर्षको उमेरमा नै विवाह गरेर भित्रियाइएकी रोशनलाई परिवार बुहारी नै होइन भन्ने प्रमाणित गर्न लागि परेको छ । नागरिकता, विवाह दर्ता जस्ता कुनै कागजात नभएकी उनी अलपत्र जस्तै छिन् । सविरसँग विवाह गरेको प्रमाण भनेको मुस्लिम परम्परा अनुसार निकाह गरेको कागज छ रोशनसँग जसलाई नेपालको कानूनले प्रमाण मान्दैन ।
उनी एकपटक काठमाडौं पनि आइन् रकम पाइन्छ रे भन्ने सुनेर । पिएनसिसीका कर्मचारीको सल्लाहपछि साउदीमा रहेको नेपाली दूतावासबाट श्रीमान बितेका कागजात मगाउन काउन्सेलर सेवा विभागमा निवेदन पनि दिइन् । निवेदन दिएपछि अब उनलाई विदेशका कागजात नआउलान जस्तो लागेको छैन । बरु उनलाई ससुुराकै चिन्ता छ । किनकी सुरुदेखि नै रोशनलाई श्रीमानको आर्थिक सहायता बुुझ्न नदिने अडानमा छन् उनका सुसुरा ।
यो सवै छलछाम बुझेको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अव प्रकृया सुरु भइसकेको हुनाले ५ बर्षभित्र रकम लिन पाउने व्यवस्था गरिदिएको छ । तर ठूलो रकम बीमा कम्पनीबाट प्राप्त हुने हो जुन अवको दुई महिना पछि म्याद सकिंदैछ । गत बर्षको फागुनमा शव नेपाल आइपुगेका कारण आगामी फागुन भित्रमा कागजात पेश नभएमा बीमा वापत प्राप्त हुने रकम गुम्नेछ । त्यसैले दोहोरो तनावमा छिन् रोशन । एकातिर श्रीमान गुमेको पीडा त छँदैछ, अर्कातिर कानून अनुसार पाउने केहि आर्थिक सहायता समेत गुम्ने अवस्था छ ।
अब धनुुषा फर्किएर नागरिकता बनाउन पहल गर्ने र त्यसपछि मात्रै आर्थिक सहायताका लागि काठमाडौं आउने भन्दै रोशन जिल्ल परेर घर फर्केकी छिन् । किशोरावस्थामै विहे भएर युवावस्था टेक्न नपाउँदै विधुवा भएकी उनले आर्थिक सहायता लिन अझै कति हण्डर खेप्नुपर्ने हो टुुंगो छैन ।
यो पनि पढ्नुहोस् मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता