
युएई- युनाईटेड अरब ईमिरेट्स (युएई) स्थित बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी नेपाली दुताबासकी श्रम सहचारी हीरा कुमारी यादवको बिदाइ गरेका छन ।
युएईमा कृयाशिल ३० भन्दा बढी संघसंस्थाले उनलाई संयुक्त रुपमा बिदाई गरेका हुन् । संस्थाहरुले यादवलाई खादा र प्रशंसा पत्र प्रदान गरी बिदाइ गरेका हुन् । गैर आवासिय नेपाली संघ, युएईको ब्यवस्थापन र झापाली समाज युएईको संयोजनमा आयोजित उक्त बिदाई कार्यक्रममा बक्ताहरुले यादवको कामको प्रशंसा गरे ।
श्रम सहचारीको रुपमा सन २०१५ फेब्रुवरीमा युएई आएकी यादव पछिल्ला दिनहरुमा मजदुरहरुको समस्या सामाधान गर्नको लागि सकृय रुपमा लागिपर्ने गरेकी थिईन् । घरेलु कामदारको समस्यालाई बिशेष चासोको रुपमा यादवले सहयोग र समाधान गर्दै आईरहेकी थिईन् । समस्याका समाधानको लागि उनी मजदुरहरुको क्याम्पहरु समेत आफैं जाने गरेकी थिईन् । श्रमिकमैत्री उनको कार्यशैलीको कारणले पनि उनी लोकप्रिय रहेकी वक्ताहरुले बताएका थिए ।
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले श्रम सहचारी यादवको भूमिका प्रती नेपालीहरु खुसी रहेको बताउँदै उत्तरोत्तर प्रगतीको कामना गरेका थिए । नेपाल पत्रकार महासंघ, युएई शाखाका अध्यक्ष भुपराज बस्याल, झापाली समाज युएईका अध्यक्ष रोहित भण्डारी लगायत वक्ताहरुले यादव युएईको अहिलेसम्मकै ईतिहासमा अब्बल श्रम सहचारी पाएकोमा गर्व गर्ने धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा अबुधाबी दुताबासका श्रम काउन्सेलर भेष बहादुर कार्कीको उपस्थिती रहेको थियो ।