
काठमाडौं, चैत्र २०- सूर्यविनायक नगरपालिका–१०, चित्तपोलका ४१ वर्षीय शनिस लागेजुको जीवनमा एक घण्टाको च्याउ खेतीसम्बन्धी सैद्धान्तिक अध्ययनले फड्को मार्यो । ०५५ मा ‘डिप्लोमा एण्ड सोसल वर्क’ प्रशिक्षणको एक साता कृषि विज्ञान कक्षा पर्यो । कृषि विज्ञान कोर्स अन्र्तगत एक घण्टाको कक्षामा उनले च्याउ खेती र नेपालमा त्यसको सम्भावना तथा उत्पादन सम्बन्धमा बुझ्ने मौका पाए । त्यही एक घण्टाको कक्षाले जीवनमा ठूलो फडो मारेको उनी बताउँछन् ।
शनिसले ०५९ देखि चाँगुनारायण नगरपालिका झौखेल स्थित ८ रोपनी र सूर्यविनायक नगरपालिका पौखेलस्थित १० रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गर्न थाले ।
च्याउ खेतीसँगै अत्याधिक प्रविधि प्रयोग गरी कन्ये, गोब्रे, सिताके, गानोडर्मा, दुधे, पिङ्क ओएस्टर च्याउ लगायत च्याउहरूको गुणस्तरीय बीउरबीजन उत्पादन गरी बिक्रि वितरण गर्दै आएको उनले बताए ।च्याउ खेतीबाट खर्च कटाएर वार्षिक २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । च्याउ खेतीमा मात्र करिब १ करोड २५ लाख लगानी गरिसकेको उनले बताए । ०७२ को भूकम्पका कारण करिब ३५ लाख रुपैयाँको क्षति व्यहोरेर पनि च्याउ खेतीबाट सन्तुष्ट शनिसलाई जिल्ला कृषि विकास कार्यालय भक्तपुरको सिफारिसमा च्याउ खेतीका लागि आधुनिक मेसिन अनुदान दिइएको छ । मेसिनलाई ३ लाख २५ हजार रुपैयाँ पर्छ । उनी तेक्वान्दोका नेशनल रेफ्री समेत हुन् ।
शनिस जस्तै, सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकका ३६ वर्षीय कृष्णभक्त ङाखुसी शिक्षण पेशा छोडर च्याउ खेतीतर्फ आकर्षित भएका छन् । १२ वर्ष च्याउ खेतीमै जीवन गुजारेका कृष्णभक्त आगामी दिनमा पनि कृषिमै बिताउने लक्ष्य राखेका छन् । उनले सूर्यविनायक नगरपालिका मिलनचोकमा ३ रोपनी र कार्की गाउँमा ४ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गरेका छन् । वार्षिक प्रति रोपनी १४ हजार भाडा तिरेर च्याउ खेती गरेको बताउने कृष्णभक्त वार्षिक ५० देखि ६० लाख आम्दानी गर्ने गरेको बताउँछन् । ‘कृषिमा खट्नु पर्यो, तरिका पुर्याएर खेती गर्नु पर्यो’, उनले भने, ‘पैसाको लागि अन्यत्र धाउनु पर्दैन ।’
कान्तिपुरबाट